विश्वकप फुटबलः पोल्याण्डको पहिलो जित

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा साउदी अरेबिया पोल्यान्डसँग २-० ले पराजित भएको छ। पहिलो खेलमा अर्जेन्टिनालाई २-१ ले हराएर सनसनी मच्चाएको साउदी दोस्रो खेलमा पनि राम्रो प्रदर्शनका बावजुत गोल खान पुग्दा तीन अङ्क गुमाउन पुग्यो।

पोल्यान्डको जितसँगै समूह ‘सी’ को नकआउट भिडन्त रोमाञ्चक अवस्थामा पुगेको छ। पहिलो खेलमा बराबरी खेलेको पोल्यान्डको जितसँगै ४ अङ्क हुँदा साउदी तीन अङ्कका साथ दोस्रो स्थानमा कायम छ। शनिबार नै हुने अर्जेन्टिना र मेक्सिकोको खेल थप महत्वपूर्ण हुनेछ। अर्जेन्टिना मेक्सिकोसँग पराजित भएमा प्रतियोगिताबाट बाहिरिने जोखिम बढ्ने छ।

खेलमा पोल्यान्डले ३९ औँ मिनेटमा पहिलो गोल गर्दा दोस्रो गोल रोवर्ट लेवान्डोस्कीले ८२ औँ मिनेटमा सम्भव बनाए। पियोट्र जिलेन्स्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर खेलमा साउदीले गोलको राम्रो मौका चुकायो।

पहिलो हाफको इन्जुरी समयमा साउदीले पेनाल्टीको मौका पाएको थियो।  जसलाई सलेम अल द्वास्रीले गरेको प्रहार पोल्यान्डका गोलरक्षक वजसेच सेजेन्सीले वचाउँदै सम्भावित बराबरीको मौकाबाट टिमलाई जोगाएका थिए। रिबाउन्डमा मोहम्मद अल बुर्याकले गरेको प्रहार पनि उनले बचाउँदा साउदी निरास बनेको थियो।

खेलमा दोस्रो गोल रोवर्ट लेवान्डोस्कीको नाममा रह्यो। उनले डिफेन्डर अब्दुल्लाह अल मल्कीको गम्भिर गल्तीको फाइदा उठाउँदै विश्वकपमा पहिलो गोल गर्दा करिअरमा भने ६०० औँ गोलको कोसेढुङ्गा पुरा गरे। लेवान्डोस्कीको गोलसँगै पोल्यान्ड खेलमा २-० ले विजयी रह्यो।

पोल्यान्डको जितसँगै समूह सीमा पोल्यान्ड ४ अङ्कका साथ शीर्ष स्थानमा रह्यो। त्यस्तै साउदी अरेबिया ३ अङ्कका साथ दोस्रो स्थानमा रहँदा मेक्सीको १ अङ्कका साथ तेस्रो र अर्जेन्टिना अङ्कविहीन रहँदै चौथो स्थानमा रहेका छन्।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्