एमालेका कार्की प्रदेश सभामा, पूर्व उपसभामुख पोखरेल ९ हजार बढी मतले पराजित

माेरङ – सुनसरीको क्षेत्र नम्बर ३ को प्रदेश सभा १ सदस्यतर्फ नेकपा एमालेका रोहितबहादुर कार्की निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७१ वर्षीय कार्की १८ हजार ६ सय ४१ मतसहित निर्वाचित भएका हुन् । उनले गठबन्धन नेकपा माओवादी केन्द्रकी उम्मेदवार सरस्वती पोखरेललाई ९ हजार १ सय ४३ मतको अन्तरले पराजित गरेका छन्।

गठबन्धन उम्मेदवार पोखरेलले ९ हजार ४ सय ९८ मत पाएकी छन् । पराजित पोखरेल यसअघि प्रदेश १ को उप सभामुखको जिम्मेवारीमा रहेकी थिइन् । पोखरेल समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यमा चयन भएकी थिइन्।

त्यसैगरी, पहिलोपटक प्रदेश सभाको सदस्यमा निर्वाचित कार्की एमाले प्रदेश कमिटी सदस्य हुन् । यस क्षेत्रमा राप्रपाका खड्ग कुमार श्रेष्ठले ५ हजार ५ सय ४५ मत हासिल गरेका छन् । यस क्षेत्रमा ६१ हजार ८ सय १० मतदाता छन्।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्