सुनसरी ३ को प्रदेशसभा १ मा एमालेका रोहितबहादुर कार्की विजयी

मोरङ – सुनसरीको क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेकपा एमालेका रोहितबहादुर कार्की निर्वाचित भएका छन्।
७१ वर्षीय कार्की १८ हजार ६ सय ४१ मतसहित निर्वाचित भएका हुन्। उनले नेकपा माओवादी केन्द्रकी उम्मेदवार सरस्वती पोखरेललाई ९ हजार १ सय ४३ मतको अन्तरले पराजित गरेका हुन्। गठबन्धन उम्मेदवार पोखरेलले ९ हजार ४ सय ९८ मत पाएकी छन्।
पराजित पोखरेल यसअघि प्रदेश १ को उपसभामुखको जिम्मेवारीमा रहेकी थिइन्। पोखरेल समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यमा चयन भएकी थिइन्।
पहिलो पटक प्रदेश सभाको सदस्यमा निर्वाचित कार्की एमाले प्रदेश कमिटि सदस्य हुन्। यस क्षेत्रमा राप्रपाका खड्गकुमार श्रेष्ठले ५ हजार ५ सय ४५ मत हासिल गरेका छन्।
यस क्षेत्रमा ६१ हजार ८ सय १० मतदाता रहेका छन्।