नेपालमा कोभिड प्यान्डेमिकको एक झलक: साप्ताहिक विश्लेषण (नोभेम्बर २० देखि २६ सम्म)

कोरोना पोजेटिभिटी दर एक प्रतिशतभन्दा कम

कोरोना प्यान्डेमिक क्रमश: ओरालो लाग्दै गएको अवस्थामा यसले विभिन्न देशहरुमा विभिन्न असर देखाएको छ। संक्रमण र प्यान्डेमिकले कम विकसितभन्दा अति विकसित देशहरुलाई बढी असर गरेको देखिन्छ।

कम विकसित देशहरुमा मानिसहरु खुला ठाउँमा बढी बस्छन्- जस्तै कौसी, चोक, खुला सडक, चौर, खेत, बारी आदि तर विकसित देशहरुमा त्यस्ता खाली र खुला ठाउँहरु त्यति  पाइँदैन। खुला ठाउँ भए पनि त्यहाँका मानिसहरु खुला ठाउँमा बस्न रुचाउँदैनन्। बरु बन्द ठाउँमा तिनीहरु बढी रमाउने गर्दछन्, जस्तै ठूला मल तथा ब्यापारिक भवन, मनोरञ्जन भवन, होटेल, रेस्टुरेन्ट, घर आदि।

प्यान्डेमिकका कारक किटाणु श्वासप्रश्वास तथा मुखका र्‍याल र छिटाहरुबाट सर्ने (ड्रपलेट ट्रान्समिसन) हुनाले बन्द कोठाभन्दा आकाश मुनिका खुला ठाउँहरु बढी सुरक्षित हुन्छन् अर्थात् बन्द ठाउँ बढी जोखिमपूर्ण हुन्दछ। सायद त्यही कारणले पनि होला, कम विकसित मुलुकहरुमा कोरोना संक्रमण र प्यान्डेमिकले कम क्षति पुर्‍याएकाे हुन सक्दछ। 

त्यस बाहेक अन्य कारणहरु पनि हुन सक्छन् कि किन कोरोना प्यान्डेमिकले अति बिकसित मुलुकलाई धेरै क्षति पुर्‍याएकाे छ, कम बिकसित मुलुकको दाँजोमा।

अर्को सम्भावित कारण सही र उचित तथ्यांक पनि हुन सक्दछ। कम बिकसित देशहरुमा संक्रमणको परीक्षण, निदान र त्यसको तथ्यांक त्यति सही नहुन पनि सक्दछ। त्यसको तुलनामा विकसित देशहरुमा संक्रमणको परीक्षण र निदान बढी सही र उत्तम तरिकाले गरिन्छ र त्यसको तथ्यांक पनि सही र उचित तरिकाले राखिन्छ। त्यस अर्थमा कम बिकसित देशहरुको तथ्यांक कम भरपर्दो र त्यति सहि नहुन सक्दछ।

हाल कोरोना संक्रमण निकै कम भइसकेको अवस्थामा पनि विकसित देशहरुमा कोरोना संक्रमणले दुख दिइराखेको छ। अमेरिका, ब्राजिल, जर्मनी, फ्रान्स, बेलायत, इटाली, रुस, जापान, कोरिया, ताइवान आदि देशहरुमा हाल पनि दैनिक सयौं मानिसको कोरोना संक्रमणकै कारण ज्यान गइराखेको छ। जबकि दक्षिण एसिया, अफ्रिका र अन्य कम बिकसित देशहरुमा दैनिक कोरोना मृत्यु फाटफुट तथा सुन्ना समान भइसकेको छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, वर्ल्डोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्देश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्र पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ। हाल दक्षिण एसियामा दैनिक कोरोना संक्रमण अझै घट्दो प्रबृत्तिको छ। दक्षिण एसियाको पछिल्लो करिब तीन हप्ता, सन् २०२२ नोभेम्बर ३ देखि २३ (२१ दिन) को कोरोना प्यान्डेमिक सम्बन्धि तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ। पछिल्लो अवास्थामा दक्षिण एसियामा समग्रमा औसत दैनिक करिब १००० भन्दा कम संक्रमण देखिने गरेको छ। पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशहरुमा दैनिक कोरोना संक्रमण घट्दै गए तापनि अफगानिस्तानमा दैनिक संक्रमण केही बढ्न खोजेको देखिन्छ।  

दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि क्रमसः घट्दै गएको देखिएको छ। पछिल्लो समय दक्षिण एसियामा समग्रमा औसत दैनिक करिब १० भन्दा कम मृत्यु देखिने गरेको छ। तर केही हप्ता अघिको तथ्यांकसँग तुलना गर्दा दक्षिण एसियामा पछिल्लो समय दैनिक कोरोना मृत्यु केही सामान्यरुपमा बढेको छ।

त्यस्तै दक्षिण एसियामा पछिल्लो समय दैनिक मृत्यु पनि क्रमसः घट्दै गएको देखिएको छ। पछिल्लो समय दक्षिण एसियामा समग्रमा औसत दैनिक करिब १० भन्दा कम मृत्यु देखिने गरेको छ। तर केही हप्ता अघिको तथ्यांकसँग तुलना गर्दा दक्षिण एसियामा पछिल्लो समय दैनिक कोरोना मृत्यु केही सामान्यरुपमा बढेको छ।

नेपालको दैनिक नयाँ संक्रमण

सन् २०२२ नोभेम्बर २० देखि २६ (बि.सं २०७९ मंसिर ४ देखि १०) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नया संक्रमणको प्रबृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पिसिआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, मंसिर १० गते शनिबारसम्म, देशभरि जम्मा २६  जना नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या १०००८७५  पुगेको छ। दुई र तीन हप्ताअघि साप्ताहिक कुल संक्रमण संख्या क्रमसः ५७ र ८४ थियो।  

त्यस्तै चित्र न. २ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गतहप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०% देखि अधिकतम १.१५% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.६% रह्यो जुन दुई र तीन हप्ताअघि क्रमश: १.११ % र १.५३% थियो।  

गतहप्ता पनि नेपालमा कोरोना मृत्यु शून्य रह्यो र हालसम्मको देशको जम्मा कोरोना मृत्यु १२०१९ पुगेको छ।  

गतहप्ता देशभरि जम्मा ३८१३  पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि ५०९८ थियो। 

संक्षेपमा, पछिल्लो समय विश्व र दक्षिण एसियाको समग्र  दैनिक कोरोना संक्रमणमा निकै कमी आएको छ। दैनिक कोरोना मृत्युको प्रबृत्ति पनि पछिल्लो समय घट्दै गएको देखिन्छ। 

नेपालमा गतहप्ता, बि.सं २०७९ मंसिर ४ देखि १०, साप्ताहिक नयाँ कोरोना संक्रमण दुई हप्ताअघिकोभन्दा निकै घटेको छ। औसत साप्ताहिक संक्रमण दर पनि घट्ने क्रम जारी छ। 

नेपालमा कोरोना प्यान्डेमिक सुरु भए यता पिसिआर परीक्षण गर्दा संक्रमण शून्य देखिएको गएको शनिवार १० गते करिब साढे दुई वर्षपछि पहिलो पटक हो, यद्यपि त्यस दिन जम्मा पिसिआर परीक्षण निकै कम गरिएको थियो, मात्र १६१। उक्त दिन जम्मा ३६५ कोरोना एन्टिजेन परिक्षण गर्दा मात्र १ संक्रमण देखिएको थियो।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसकेकता पनि उन्मूलन भने भइसकेको छैन।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशहरुमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्दछ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाइका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

(डा. श्रेष्ठ कन्सल्टेन्ट न्यूरो सर्जन हुन्।) 

मंसिर ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्