जनकपुरधाम – सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ। आइतबार जनकपुरधामस्थित गंगासागर पोखरीमा मटकोर विधि सम्पन्न भएको हो।

सीता–राम विवाह महोत्सवको पाँचौ दिन जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहितको टोली बिहेको वेदी बनाउन गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए। मटकोर विधिको क्रममा लगिएको माटोबाट सीता–राम विवाहका लागि मडवा निर्माण गरिने छ।

पोखरीबाट जानकी मन्दिर भित्र्याइएको माटोले सीता–राम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ। सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज पाँचौ दिन मटकोर विधि सम्पन्न भएको हो।

महोत्सवको छैठौँ एवं प्रमुख दिन सोमबार स्वयंवर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन मंगलबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।