उम्मेदवारले खर्च विवरण बुझाउन थाले

विदुर- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिनुपर्ने निर्वाचन आयोगल निर्णय गरेको थियो।

नुवाकोटमा रहेका दुईवटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम यही शनिबार सार्वजनिक भएको थियो। आइतबार नै सातजना उम्मेदवार निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयमा पुगेका छन्।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमको अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कार्यालय खुलेको पहिलो दिन सातजना उम्मेदवारले खर्च विवरण बुझाएका छन्। करिब एक दर्जनले फाराम लिएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारसहित समानुपातिक उम्मेदवारसमेत आफैँ निर्वाचन कार्यालयम पुगेर आवश्यक कागजातसहितको खर्च विवरण बुझाएका हुन्।

आम निर्वाचनअन्तर्गत जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारले निर्वाचन क्षेत्र नं १ मा ३१ लाख र क्षेत्र नं २ मा २९ लाखसम्म खर्च गर्न पाइने सीमा तोकिएको छ।

प्रदेशसभातर्फ जिल्लाको चारवटामा नै प्रत्यक्षतर्फका उम्मेदवारले १७ लाखसम्म खर्च गर्न पाइने कानुनी व्यवस्था तोकिएको थियो। प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारले दुई लाखसम्म र प्रदेश समानुपातिक उम्मेदवारले एक लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा छ।

सोही सीमाभित्र रहेर निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले एक महिनाभित्र उम्मेदवारले अनिवार्यरुपमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।

तोकिएको समयभन्दा ढिलो गरेमा उम्मेदवारले खर्च गर्न पाउने सीमा बराबरसम्मको जरिवाना तिर्नुपर्ने भएकाले जिल्लाका उम्मेदवार चुनावी नतिजा आएलगत्तै खर्च विवरण बुझाउन हतारिएका हुन्।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्