रुसले ऊर्जा केन्द्रमा गरेको आक्रमण नरसंहार सरह: युक्रेनी उच्च अधिकारी

रुसले ऊर्जा केन्द्रमा गरेको आक्रमणका कारण राजधानी किएभसहितका क्षेत्रका बासिन्दा दशौँ लाख मानिस चिसोमा विद्युत आपूर्तिबाट वञ्चित भएका छन्। तस्बिर : गेट्टी इमेज

रुसले युक्रेनका ऊर्जा केन्द्रमा गरिरहेको आक्रमण नरसंहार सरह रहेको युक्रेनका उच्च अधिकारीले बताएका छन्।

युक्रेनका न्यायाधीवक्ताले आत्मसमर्पणका लागि बाध्य बनाउने नियतले रुसले ऊर्जा केन्द्रहरूलाई निशाना बनाएको बिबिसीसँग बताएका हुन्।

ऊर्जाका प्रमुख केन्द्रहरूमा भएको आक्रमण ‘युक्रेनको पूर्ण भागमा गरिएको आक्रमण’ सरह रहेको उनले बताए।

निश्चित समूह वा समुदायका मानिसको नामनिशाना मेटाउने प्रयासलाई नरसंहार भन्ने गरिन्छ। रुसले युक्रेनमा आफूले त्यस्तो कुनै गतिविधि नगरेको दावी गर्दै आएको छ।

जाडोयामको कठ्याङ्ग्रिदो जाडोमा दशौँ लाख युक्रेनी विद्युत आपूर्तिबाट वञ्चित भएका छन्। विद्युत आपूर्ति पुनः सुचारु गर्नका लागि मर्मत प्रयास भइरहेको युक्रेनी अधिकारीले बताएका छन्।

तर, रुसले लगातार गरिरहेको मिसाइल आक्रमणका कारण त्यसमा अवरोध सिर्जना भएको उल्लेख छ।

खेर्शन सहरमा आपूर्ति पूर्णरूपमा स्थापित भएको छ। सो सहर यो महिनाको सुरुमा युक्रेनी सेनाले आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए।

तर, राजधानी किएभसहितका १४ क्षेत्रमा विद्युत सेवा प्रभावित भएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्