नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार के के हुँदैछ?

पर्फमेन्स आर्ट गर्दै कलाकार रसिकराज र अन्शु खनाल। तस्बिर: रिजन परियार/निटफेस्ट

काठमाडाैँ- नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ।

चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम पनि सुरु हुँदैछन्। त्यस्तै, नेपालका दुई नाटकको मञ्चन र कार्यशाला महोत्सवमा तय छ।

‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’को रूपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौँले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिसकसन हुँदैछ।

साँझ ७ः३० बजे हुने कार्यक्रममा रङ्गकर्मीहरू पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन्।

दुई नेपाली नाटक

सोमबारै केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ मञ्चन हुँदैछ। साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित यस नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ।

‘खुवालुङ’ जसले किराती सभ्यताको इतिहासको रुपमा सदियौंदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथाबारे बताउँछ। नाटकले सो ढुंगाको मिथ बताउँदै गर्दा, सिंगो किराँती जनताको भावनालाई नबुझी यसलाई यसलाई फुटाउने धम्की दिने सरकारको आलोचना गर्दछ।

त्यस्तै, साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ। जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन्। रंगमन्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्वसम्बन्धी प्रश्नहरू आउन थाल्नेछन्।

यी प्रश्नहरुसँगै दर्शकहरुले आफ्नो अनुभवको आधारमा आफूभित्रको विचारहरुलाई फर्केर हेर्ने र त्यसबारे एकदमै स-साना विवरणहरू याद गर्ने प्रयास यस नाटकले गराउनेछ।

विशेष कार्यशाला

सोमबार २ बजेदेखि एक विशेष कार्यशाला पनि हुँदैछ। ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला हुन लागेको हो।

रङ्गमञ्चलाई अझै समावेशी बनाउनका लागि यस कार्यशाला विशेष रहनेछ। त्यस्तै, ‘कार्डबोर्ड र रङ्गमञ्च’को विषयमा अर्को कार्यशाला पनि हुँदैछ।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्