पोखरामा सात वर्षपछि भैरव नाच

पोखरा- नेवारी संस्कृतिमा एउटा यस्तो नाच छ, जुन तन्त्रमा आधारित हुन्छ। यस नाचलाई भैरव नाच भनिन्छ।

२५० वर्षे लामो इतिहास बोकेको भैरव नाचमा कलाकारमात्रै १०६ जना आवश्यक पर्दछ। १२ जना युवा काल भैरव, महाकाली, इन्द्रायणी, वाराही, कौमारी, विष्णुवी, व्रम्हायणी, गंगा, गणेश, दागिनी, भूच्चा र कवाङको रूप धारण गरी नाच्ने गर्दछन्।

३० जना गायक, १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा नृत्य कलाकार, १० स्वयमसेवक र व्यवस्थापक २० जना आवश्यक हुन्छ। भैरव नाचमा न्यूनतम् ८० जना कलाकार चाहिन्छ।

खर्चिलो भएपनि यो नाच काठमाडौँ उपत्यकामा मात्रै नभएका पोखराका नेवार समुदायले पनि धानिरहेका छन्। नयाँ पुस्तालाई सिकाइरहेका छन्।

पोखरामा ७ वर्षपछि भैरव नाच प्रर्दशन गर्न लागिएको छ। पहिला प्रत्येक १२ वर्षमा देखाइने भैरव नाच २०२९ सालपछि ६ वर्षमा देखाउन थालियो। तर, कोरोना कहरका कारण पोखराले १ वर्ष ढिला गरेर भएपनि भैरव नाच देखाउँदैछ।

मंसिर १५ देखि २२ गतेसम्म पोखरामा विभिन्न स्थानमा नाच प्रदर्शन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानांगले बताए।

उनका अनुसार भीमसेन मन्दिरबाट भैरव नाच प्रदर्शन सुरु हुनेछ। त्यसपछि गणेश मन्दिर भीमसेनटोल, सरस्वती मन्दिर, विन्ध्यावासिनी मन्दिरलगायतका स्थानमा नाच प्रदर्शन गरिनेछ।

‘मंसिर २२ गतेपछि भक्तजनको मागअनुसार चैत मसान्तसम्म नृत्य प्रदर्शन रहनेछ’, प्रधानांगले भने।

भैरव नाच प्रदर्शन गर्न १ महिना लामो प्रशिक्षण गराएको प्रधानांगले जानकारी दिए। उनका अनुसार ३५० बढी कलाकारले प्रशिक्षण लिएका छन्।

उनले भने, प्रशिक्षणमा देखिएको सहभागिताले भविष्यमा निरन्तरता पाउने विश्वास बढेको छ।’

नेवारी भाषाका भजन र आरतीको गायनमा आधारित कौंशिक, छायाँनट्, मालवा, सारंगा, तोडी, मालश्रीलगायत रागहरू गाइन्छ। नर्तकहरू खरजति ताल, चोक ताल, एक ताल, दामो तालमा नृत्य गर्छन्।

मुदृंगा, झ्याली, सहनाइ वादनको माध्यमबाट संगीत सिर्जना गरेर भैरव नाच नचाइन्छ। शास्त्रीय संगीतमा आधारित भैरव नाच करिब ६ घण्टासम्म चल्छ।

‘कति समयसम्म चल्छ भन्ने ठ्याक्कै यकिन छैन। ५ देखि ६ घण्टाको बीचमा सकिन्छ’, संस्कृतिविद् तीर्थ श्रेष्ठले भने।

कलाकारको समर्पण र भक्तिले भैरव नाच जोगिएको श्रेष्ठकाे कथन छ। भक्तपुरका राजा रणजीत मल्लको पालादेखि भैरव नाच सुरु भएको कथन छ।

 

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्