एमालेले राष्ट्रिय राजनीतिमा लिड रोल नलिँदासम्म देश अगाडि बढ्न सक्दैन: विष्णु पाैडेल

फाइल तस्बिर।

काठमाडाैँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हुन्।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरूमाझ संक्षिप्त कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने जिकिर समेत गरे।

उनले राष्ट्रलाई अघि बढाउने सन्दर्भमा आफ्नो पार्टीले संघीय संसद, प्रदेशसभाहरूमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने पटकपटक दोहोर्‍याए।

उपाध्यक्ष पौडेलले भने, ‘राजनीतिक स्थायित्वका लागि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन गर्ने मुद्दा थियो। तर, आज यतिबेलासम्म आइपुग्दा हामीलाई बहुमत प्राप्त गर्न सम्भव भएन। हामी यो प्रकट भएको जनादेशलाई सम्मान गर्छौँ। त्यसलाई स्वीकार गर्छाैँ। र, त्यसअनुरूप अघि बढ्छौँ। एउटा सत्य के हो भने फेरि पनि नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिड रोल नलिँदासम्म देश अगाडि बढ्न सक्दैन, देशले अस्थिरताको चक्रव्यूहबाट मुक्ति पाउन सक्दैन, विकास, समृद्धि र सामाजिक न्यायको अभियानले गति प्राप्त गर्न सक्दैन भन्ने कुरा विगतको अनुभवले पनि स्पष्ट गरेको छ। त्यसकारण यो उपलब्ध अवस्थामा हामीले सकेसम्म मुलुकलाई नेतृत्व प्रदान गर्ने हिसाबले पहलकदमी लिन्छौँ। तदनुकूल हाम्रो भूमिका रहन्छ। राष्ट्रलाई अगाडि बढाउने सन्दर्भमा नेकपा एमाले आफ्नो हैसियत अनुरूपको सशक्त र प्रभावकारी भूमिकामा उपस्थित हुनेछ। नेकपा एमालेले मात्रै देशलाई सही दिशामा अघि लैजान सक्छ भन्ने अनुभूति मुलुकले गर्ने गरिकन हामी संघीय संसदमा, प्रदेशसभाहरूमा प्रस्तुत हुनेछौ भन्ने म यहाँहरुलाई बताउन चाहन्छु।’

उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै उनीहरूको समृद्धिका लागि आफूले काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

त्यस अवसरमा उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सबै स्थानीय राजनीतिक पार्टीहरूको सुझाव लिएर अघि बढ्ने बताए।

 

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्