बाँयाबाट क्रमशः जीवनबहादुर शाही, छिरिङ डम्डुल लामा (कोर्चेन) र रणसिंह परियार।

सिमकोट– मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा हुम्ला जिल्लाबाट दुई नयाँ अनुहार निर्वाचित भएका छन्।

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित छिरिङ डम्डुल लामा (कोर्चेन) र कर्णाली प्रदेशसभामा निर्वाचित रणसिंह परियार पहिलो पटक निर्वाचित भएका हुन्। परियार हुम्ला प्रदेशसभा ‘क’बाट निर्वाचित भएका हुन्।

लामा र परियार दुबै जना माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। हुम्ला प्रदेशसभा ‘ख’बाट भने नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही निर्वाचित भएका छन्।

लामा कर्णाली प्रदेश सरकारका मन्त्री हुन्। माओवादीले लामालाई मन्त्री बनाएपछि चौतर्फी विरोधसमेत भएको थियो। गैरसांसदलाई मन्त्री बनाएको भन्दै माओवादीको विरोध भएको थियो। उनले माओवादीको दश बर्षे युद्धमा भूमिगत जीवन बिताएका थिए।

प्रदेशसभामा निर्वाचित परियार भने शिक्षण पेशाबाट राजनीतिमा प्रवेश गरेका हुन्। उनी माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य हुन्।

मुख्यमन्त्री शाही भने २०७४ को निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसअघि उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा हुम्लाबाट निर्वाचित भएका थिए।

उनीहरु तीनै जना सत्ता गठबन्धनबाट निर्वाचित भएका हुन्।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्