दाङमा बदर मत धेरै

फाइल तस्बिर।

दाङ- यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५. ९२ प्रतिशत र प्रदेशसभातर्फ ४.७७ प्रतिशत मत बदर भएको छ।

तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा मत बदर हुनुलाई मतदातामा शिक्षा अपुग भएको विश्लेषण गरिएको छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा १२ प्रतिशत आंशिक र ३ प्रतिशत पूर्णरूपमा बदर भएको थियो।

जिल्लामा कूल चार लाख १४ हजार ९५६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ १४ हजार ७०९ मत बदर भएको छ। साथै, प्रदेशसभामा ११ हजार ८३३ मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ २० हजार २३५ मत बदर भएकाे छ।

उनले प्रतिनिधिसभाभन्दा धेरै प्रदेशसभाको मत बदर भएको बताए। बदर मतमा औंँठा छाप लगाएका मतपत्र धेरै भेटिएको उनले जानकारी दिए।

दाङ जिल्ला क्षेत्र नं १ मा एक लाख ३४ हजार ७३३ मतदाता रहेकोमा ७८ हजार २६७ मत खसेको थियो। जसमा चार हजार ५८० मत बदर भएको थियो। यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ७० हजार २६७ मतदाता रहेकोमा ३९ हजार ८४४ मत खसेको थियो।

जसमा दुई हजार ४१० मत बदर भएको थियो। त्यसैगरी प्रदेशसभा २ मा ६४ हजार ४६६ मतदाता रहेकोमा ३८ हजार ४५४ मत खसेको थियो जसमा एक हजार ७६३ मत बदर भएको थियो।

निर्वाचन क्षेत्र नं २ मा एक लाख ३३ हजार ७४८ मतदाता रहेकोमा ७९ हजार ३३७ मत खसेको थियो। जसमा चार हजार ७०६ मत बदर भएको थियो। यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६३ हजार ३२२ मतदाता रहेकोमा ३६ हजार ९९३ मत खसेको थियो। जसमा एक हजार ४८५ मत बदर भएको थियो। साथै, प्रदेशसभा २ मा ७० हजार ४२६ मतदाता रहेकोमा ४२ हजार १५२ मत खसेको थियो। जसमा दुई हजार ३९ मत बदर भएको थियो।

निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४६ हजार ४७५ मतदाता रहेकोमा ९० हजार ५३५ मत खसेको थियो। जसमध्ये पाँच हजार ४२३ मत बदर भएको थियो। यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार ४८६ मतदाता रहेकोमा ४० हजार ४७४ मत खसेको थियो। जसमा एक हजार ७७८ मत बदर भएको थियो। साथै, प्रदेशसभा २ मा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९३३ मत खसेको थियो। जसमा दुई हजार २५८ मत बदर भएको थियो।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्