देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, गठबन्धनकै सरकार बनाउने बारेमा छलफल

काठमाडाैँ- यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच साेमबार नयाँ सरकार गठनबारे छलफल भएको छ।

प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँच दलीय गठबन्धनलाई अझै थप बलियो बनाइ गठबन्धनकै नेतृत्वमा आगामी सरकार गठन गर्नुपर्ने विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच नयाँ सरकार गठन, राष्ट्रपतिलगायत ‘पावर शेयरिङ’ गर्नुपर्ने बारेमा समेत छलफल भएको थियो।

गठबन्धन दायाँबाँया नगरी एकमतका साथ अघि बढ्नुपर्ने तीन शीर्ष नेताको निष्कर्ष रहेको प्रेस प्रमुख परियारले बताए।

निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच भएको भेटमा बधाई साटासाटसमेत भएको थियो। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच यसअघि शनिबार पनि भेट भएको थियो।

निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

निर्वाचन आयोगका अनुसार आज दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ।

यसैगरी, नेकपा एमाले ४२ स्थानमा विजयी भएको छ भने एक स्थानमा अग्रता कायम गरेको छ। नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात/सात स्थानमा जित हासिल गरेका छन्।

यस्तै, स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टी तीन स्थानमा विजयी भएका छन्। बाँकी स्थानको केही समस्याका कारण मतपरिणाम आउन ढिलाइ भएको आयोगले जनाएको छ।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्