सिजपद्वारा निर्वाचनमा बालबालिका प्रयोगका २१६ वटा घटना सार्वजनिक

काठमाडाैँ- गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूबाट बालबालिका प्रयोग भएका २१६ वटा घटना सार्वजनिक भएको छ।

बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले सोमबार एक कार्यक्रम आयोजना गरी मंसिर ४ गतेको निर्वाचनमा २१६ वटा बालबालिका प्रयोगको घटना भएको जानकारी दिएको हो।

सो संस्थाले गरेको अध्ययन अनुसार बालबालिका प्रयोगको २१६ वटा घटनाहरु मध्ये प्रचारप्रसार तथा र्‍यालीमा १४४ वटा, घरदैलोमा १२ वटा, आम सभामा १८ वटा, प्रचारप्रसार सामग्रीमा १३ वटा र कलाकारको रूपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको थियो।

संस्थाका अध्यक्ष राजेश शर्माले सबैभन्दा बढी वाम लोकतान्त्रिक गठबन्धनका दलहरूबाट बालबालिका प्रयोग भएको बताए।

वाम लोकतान्त्रिक गठबन्धनका दलहरूबाट ९८ वटा घटना, नेकपा एमालेबाट बाट ७१ वटा, अन्य राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारहरूबाट १३ वटा घटनामा बालबालिका प्रयोग गराइएको पाइएको उनकाे भनाइ छ।

पार्टीगत रूपमा हेर्दा नेपाली कांग्रेसले २२ वटा, नेकपा माओवादी केन्द्रले १३ वटा, नेकपा एकीकृत समाजवादीले ८ वटा, लोकतान्त्रिक समाजवादी पार्टीले ३ वटा, नेकपा एमालेले ७१ वटा, जसपा, राप्रपा र राप्रपा नेपालले गरी ९ वटा, राप्रपाले १२ वटा, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ वटा, विवेकशिल, नेपाल सुशासन र जनमत पार्टीले १/१ वटा घटनामा बालकालिकाको प्रयोग गरेको अध्यक्ष शर्माले जानकारी दिए।

उनले २५ वटा विद्यालय, १ वटा विद्यालय बस र ४ जना शिक्षक पनि निर्वाचनमा प्रयोग भएको सूचना आफूहरूलाई प्राप्त भएको उल्लेख गरे। जसमध्ये वाम लोकतान्त्रिक गठबन्धनले १५ वटा विद्यालय र नेकपा एमालेले १० वटा विद्यालयको प्रयोग गरेको उनकाे भनाइ छ।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्