सुकुम्बासीको आक्रोश: ‘बालेनजस्तो मेयर चाहिँदैन, गरिबको घर भत्काउन पाइँदैन’

तस्बिरहरुः बर्षा शाह/देश सञ्चार।

काठमाडौँ – थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन काठमाडौँ महानगरको टोली पुगेसँगै स्थानीयले मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्ध नारा लगाएका छन्।

थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन महानगरको टोली डोजरसहित उक्त स्थानमा पुगेको थियो।

आफूहरुलाई व्यवस्थित नगरी हटाएको भन्दै स्थानीयवासी महागरविरुद्ध आक्रोशित भएका हुन्। उनीहरुले ‘बालेन शाह मुर्दावाद, गरिब मार्न पाइँदैन, मर्न हामी तयार छौँ, गरिबका घर भत्काउन पाइँदैन, डोजर लगाउन पाइँदैन, बालेनजस्तो मेयर चाहिँदैन’लगायतका नारा लगाउँदै विरोध जनाइरहेका छन्।

उनीहरुले टायर बालेरसमेत विरोध जनाइरहेका छन्। सो स्थानमा बालिएको टायरको धुँवा थापाथलीस्थित प्रसुती गृहतर्फ गइरहेकोले अस्पताललाई समेत असर पर्नसक्ने देखिएको छ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो। समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारीसाधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्