नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारबारे परराष्ट्रले माग्यो बेलायतसँग जवाफ

काठमाडौँ– नेपालले उच्च शिक्षाका लागि बेलायत पुगेर यातना भोग्न बाध्य भएका नेपाली विद्यार्थी सुलभ खड्काका विषयमा बेलायत सरकारसँग छलफल गरेको छ ।

योर्क सेन्ट जोन विश्वविद्यालयमा अध्ययनका लागि सबै प्रक्रिया पूरा गरेर बेलायत पुगेका खड्कालाई स्थानीय विमानस्थलका प्रहरीले दुर्व्यवहार गरेको, तनाव दिएको तथा  नेपाल फर्काउने भनिएको थियो । उनको घटना सार्वजनिक भएपछि सरकारले बेलायतसँग छलफल गरेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

उनको न्यायका लागि तत्काल प्रयासको माग गर्दै परराष्ट्र मन्त्रालयले यसबारे काठमाडौँस्ठित बेलायती दूतावाससँग कुरा गरेको हो । यस्तै बेलायती गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग पनि कुरा गरिएको जनाइएको छ ।  खड्काले विश्वविद्यालयको सबै प्रक्रिया पूरा गरेका थिए, तर उनलाई म्यानचेस्टर एयरपोर्टमा सुरक्षाकर्मीले लामो सोधपुछ गरी उनका कागजात जायज नभएको भन्दै नेपाल फर्किन भनेका थिए ।

उनलाई विश्वविद्यालयसँग सम्पर्क गर्नका लागि कुनै सहयोग नगरिएको थिएन । तर उनले द गार्डियन पत्रिकालाई आफूले भोगेको पीडाबारे बताएपछि अधिकारीहरुले जवाफ दिएका थिए ।

गार्डियनमा प्रकाशित भएको समाचार अनुसार विश्वविद्यालयले उनलाई अर्को वर्ष भर्ना लिने बताएको छ । यस्तै उनको भिसाका लागि लाग्ने शुल्क पनि तिर्ने उल्लेख गरेको छ ।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्