पाँच लाख भारतीय पर्यटक जिल्लामा भित्र्याउन सकिन्छः मुख्यमन्त्री शाही

सिमकोट – मानसरोवर कैलाशको दर्शन गर्न पाँच लाख भारतीय पर्यटक आउन तयार भएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले बताएका छन्।

उद्योग वाणिज्य संघले प्रतिनिधि तथा प्रदेश सभामा नवनिर्वाचित सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रममा उनले मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक पर्यटक उल्लेख्य रहेको र आफूलाई सडक यातायात सहज भए वर्षमा कम्तीमा पनि पाँच लाख भारतीय पर्यटक आउन इच्छुुक रहेको जानकारी आएको बताए।

उनले यो भारतीय पर्यटकको संख्या मात्र भएको र यसमा अन्य देशका पर्यटक थपिने जानकारी पनि आएको बताए।

यसका लागि सिमकोट–हिल्सा सडकलाई टुु लेन चौडा र कालोपत्रे गर्न आवश्यक रहेको उनले बताए।

उनले उक्त सडक संघीय सरकारअन्तर्गतको आयोजनामा पर्ने भए पनि प्रदेश सरकारले सो आयोजनाको स्तरोन्नति कार्यमा सघाउने जनाए।

सडक सहज भए पाँच लाख पर्यटकमा एक लाखले हेलिकोप्टरमा यात्रा गरे पनि बाँकीले भने पैदल मार्गबाट यात्रा गर्ने र यसबाट हुम्लावासीले फाइदा लिने उनको भनाइ छ।

५५ हजार जनसंख्या भएको हुम्ला जिल्लामा वर्ष त्यति धेरै भारतीय पर्यटक मात्र भित्र्याउन पाए हुम्लाको मात्र नभएर समग्र प्रदेश र देशको विकासमा टेवा पुुग्ने उनले बताए।

उनले हुम्लावासीको आर्थिक परिवर्तनसँग जोडिएको पर्यटन क्षेत्रको विकासका लागि सबै पक्षले ध्यान दिनुुपर्नेमा जोड दिए। पर्यटक आउने भएको हुँदा सो सडक स्तरोन्नति गर्ने जिम्मा लिएका निर्माण व्यवसायीलाई पनि जिम्मेवार भएर चाँडो काम गर्न उनले आग्रह गरे।

हाल सडकमार्ग सहज नहुँदा र हवाई यात्रा महँगो पर्ने भएकाले सीमित संख्यामा पर्यटक हुम्ला हुँदै हिल्साबाट ताक्लाकोट हुँदै प्रत्यक्ष दर्शन गर्ने र नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य हुँदै आएको छ।

यद्यपि, कोरोनापछि हिल्सा नाका बन्द हुँदा उक्त क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्ने कार्य भने बन्द हुँदै आएको छ। हालसम्म हिल्सा र लाप्चा क्षेत्रबाट तीस हजारभन्दा बढी पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेका छन्।

 

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्