विवाहपञ्चमीः स्वयंवर सम्पन्न, राति विवाह हुने (तस्बिरहरु)

जनकपुरधाम – सीता–राम विवाहपञ्चमी महोत्सवको मुख्य दिन जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ। विवाहपञ्चमीको मुख्य दिन सोमबार रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो।

विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन्। स्वयंवर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ।

आज राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गरिएको थियो। सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुनेछ।

 

विवाहपञ्चमीको भीडमा हुनसक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ। भीडभाडमा हुनसक्ने अपराधिक घटनालाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्