गण्डकी प्रदेश सभा

जनताले पत्याएनन् दोहोरिन खोज्नेलाई!

पोखरा – गण्डकी प्रदेश सभाका ६० सदस्यमध्ये ११ जनालाई पार्टीले पत्याएर फेरि प्रदेश सभाको चुनाव लड्नलाइ टिकट थमायो। गण्डकीमा प्रतिनिधि सभाको १७ र प्रदेश सभाको ३४ सिटको छिनोफानो भइसकेको छ। विवादका कारण स्याङ्जा २ मा मात्र मतगणना हुन बाँकी हो।

गण्डकीमा फेरि दोहोरिन चाहेका स्याङजा २ ‘क’ मा मोहनप्रसाद रेग्मीबाहेकको मत परीक्षा सकिएर जनताले फैसला गरिसकेका छन्। पार्टीले पत्याएका ४ जनालाई मात्रै जनताले फेरि पत्याएर गण्डकी प्रदेश सभामा पठाएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र स्वतन्त्रका १/१ जना प्रदेश सभामा फेरि दोहोरिए। एमालेका ५ र माओवादी केन्द्रका १ जनालाई जनताले पत्याइदिएनन्। जनमत नपाएपछि दोस्रो पटक प्रदेश सभा छिर्ने सपनामा यो पटक विराम लागेको छ।

दोहोरिएका ४ जना


गण्डकी प्रदेशमा नेकपा विभाजनपछि एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढाल्नलाई राजीव गुरुङ (दिपक मनाङे) जस्तो पावरफुल कोही थिएन। मनाङेको हातमा मुख्यमन्त्री गुरुङ नेतृत्व सरकारको आयु थियो। उनैका लागि भनेर पृथ्वीसुब्बाले मन्त्रालय फुटाएर मन्त्री पनि बनाए। तर, अन्तिममा मनाङेको समर्थनमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार बन्यो। गण्डकीमा सरकार फेरबदलमा भन्दा मनाङे प्रदेश सभा निर्वाचनमा अझ बढी पावरफुल देखिए।

उनी मतदानअगावै सर्वसम्मत निर्वाचित भएर प्रदेश सभा छिर्ने सांसद बने। मनाङले मनाङ ‘ख’ मा उम्मेदवारी दर्ता गराएका थिए। २०७४ मा एमालेको समर्थनमा जितेका मनाङेविरुद्ध यसपालि एमाले कांग्रेसले चुनावी मैदानमा उम्मेदवार खडा गर्नै सकेनन्। स्वतन्त्र उम्मेदवार दिएका दोर्जे लामा गुरुङले पनि भिडन्तको दिनसम्म आफूलाई रोक्न सकेनन्। जनताको मत परीक्षणअगावै मैदान छाडेर भागेपछि मनाङे असोज २८ गते नै सर्वसम्मत निर्वाचित भए। त्यसपछि गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहेका मनाङेको गण्डकी प्रदेश सभामा दोस्रो पटक इन्ट्री भयो।

कानुनमन्त्री विन्दुकुमार थापाले पनि दोस्रो जित दर्ता गराएका छन्। उनलाई असहयोग गरेको आरोपमा गण्डकीकै भौतिक पूर्वाधार मन्त्री कुमार खड्का निर्वाचनको केही दिन अगाडि मात्र बर्खास्तीमा परे। कांग्रेसबाट दोहोरिनलाइ टिकट पाउने विन्दु एक्ला थिए। खड्काको बर्खास्तीपछि चौघेरोमा परेका थापाले कास्की २ ‘ख’ मा जनताको मतलेजित्दै दोस्रो कार्यकाल दोहोर्‍याएका छन्।

अघिल्लो पटक एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा छिरेकी मिना गुरुङ विन्दुको प्रतिस्पर्धी थिइन्। यो पटक प्रत्यक्षबाटै दोहोरिने योजनामा रहेकी उनलाई जनताले पत्याएनन्।

गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले पनि जित हासिल गरेका छन्। तनहुँ १ ‘ख’ बाट चुमान फेरि दोहोरिएका हुन्। चुनावअगाडि मात्रै कांग्रेसबाट एमाले छिरेर चुमानसँगको प्रतिस्पर्धामा उत्रिएका पुर्णबहादुर गुरुङको जोर चलेन। माओवादीबाट गण्डकीमा दोहोरिने एक्ला चुमान यदि माओवादीकै नेतृत्वमा सरकार बनेको खण्डमा मुख्यमन्त्रीका दाबेदार पनि हुन्।

नेकपा एमालेका रोशनबहादुर गाहा थापालाई पनि जनताले अनुमोदन गरेर दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सभामा पठाएका छन्। नवलपुर १ ‘क’ बाट चुनाव लडेका मगरले नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेललाई पछाडि पार्दै फेरि गण्डकी प्रदेश सभाको यात्रा तय गरेका हुन्।

जनताले नपत्याएकाहरु


एमालेबाट दोहोरिनलाई कास्की ३ ‘ख’ बाट चुनावी मैदानमा होमिएका राजीव पहारी पराजित भएका छन्। उनलाई पहिलो पटक संसदीय यात्रामा होमिएका नेपाली कांग्रेसका प्रकाश बरालले रोकेका हुन्।

तनहुँ १ ‘क’ बाट दोहोरिन खोजेका रामबहादुर गुरुङलाई पहिलो पटक मैदान छिरेका नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठले पराजित गर्दै दोहोरिन दिएनन्। पश्मिना व्यवसायी गुरुङलाई प्लास्टिक व्यवसायी श्रेष्ठ चुनावी मैदानमा बाधा भए।

मुस्ताङ ‘क’ बाट प्रदेशमा दोहोरिने दाउमा रहेका इन्द्रधारा विष्टलाई पनि सफलता मिलेन। कांग्रेसका नम्डु गुरुङलाई जनताले पत्याए। मुस्ताङ ‘ख’ बाट चन्द्रमोहन गौचन पनि पराजित भए। २०७४ सालमा समानुपातिक कोटाबाट प्रदेश छिरेका गौचनलाई विकल शेरचनले प्रत्यक्ष चुनाव जित्दै दोहोरिन दिएनन्।

कास्की १ ‘क’ मा माओवादीबाट मैदानमा उत्रिएका दिपक कोइरालालाई पनि फेरि जनताले पत्याएनन्। प्रतिनिधि सभाबाट प्रदेश झरेका नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी निर्वाचित भए।

प्रतिनिधिसभा उक्लिएकालाई पनि झड्का


पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित गण्डकी प्रदेश सभामा अनुभव बटुलेका ५ जना प्रतिनिधि सभामा उक्लिए। लमजुङबाट माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्दै एमाले उपमहासचिव पृथ्वीसुब्बाले सफलता हासिल गरे। पृथ्वीसुब्बा नेतृत्वको मन्त्रीपरिषद्का अर्थमन्त्री किरण गुरुङ र भौतिक पुर्वाधारमन्त्री रामशरण बस्नेतलाई प्रतिनिधि सभामा जनताले पत्याएनन्।

तनहुँ २ मा चुनाव लडेका गुरुङलाई नेपाली कांग्रेसका शंकर भण्डारले पराजित गर्दा राजेन्द्र बजगाईंले गोरखा १ बाट रामशरणलाई रोके। रामशरण र बजगाईं पुराना प्रतिस्पर्धी हुन्। २०७४ मा गोरखा १ ‘ख’ बाट प्रदेश सभा छिर्नलाई रामशरणले बजगाईंलाई रोकेका थिए।

गण्डकीका वहालवाला अर्थमन्त्री रामजी बराललाई पनि जनताले खसालेको मत चुनाव जित्नलाई अपर्याप्त भयो। नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ सँग बराल पराजित भएका हुन्। रामजी कास्की ३ ‘क’ बाट चुनाव जित्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रदेशबाट प्रतिनिधि सभामा बढुवा भएका मनबहादुर गुरुङले कास्की १ मा जित दर्ता गराएका छन्। नेकपा एमाले कास्कीका अध्यक्ष गुरुङले नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई रोक्दै प्रतिनिधि सभामा डेब्यु गरेका हुन्।

गण्डकी प्रदेश सभामा जित्नेहरुः

कास्कीः
कास्की १ ‘क’ – खगराज अधिकारी (नेकपा एमाले)
कास्की १ ‘ख’ – बेदबहादुर गुरुङ (नेकपा एमाले)
कास्की २ ‘क’ – भीमबहादुर कार्की (नेकपा एमाले)
कास्की २ ‘ख’ – विन्दुकुमार थापा (नेपाली कांग्रेस)
कास्की ३ ‘क’ – गणेशमान गुरुङ (नेकपा एमाले)
कास्की ३ ‘ख’ – प्रकाश बराल (नेपाली कांग्रेस)

तनहुँः
तनहुँ १ ‘क’ – अशोककुमार श्रेष्ठ (नेपाली कांग्रेस)
तनहुँ १ ‘ख’ – हरिबहादुर चुमान (नेकपा माओवादी केन्द्र)
तनहुँ २ ‘क’ – श्यामराजा महत (नेकपा एमाले)
तनहुँ २ ‘ख’ – जितप्रकाश आले (नेपाली कांग्रेस)

लमजुङ
लमजुङ ‘क’ – डा. टकराज गुरुङ (नेपाली कांग्रेस)
लमजुङ ‘ख’ – भेषबहादुर पौडेल (नेपाली कांग्रेस)

मनाङः
मनाङ ‘क’ – मुनिन्द्रजंग गुरुङ (नेपाली कांग्रेस)
मनाङ ‘ख’ – राजीव गुरुङ (निर्विरोध निर्वाचित)

मुस्ताङः
मुस्ताङ ‘क’ – नम्डु गुरुङ (नेपाली कांग्रेस)
मुस्ताङ ‘ख’ – विकल शेरचन (नेपाली कांग्रेस)

म्याग्दीः
म्याग्दी ‘क’ – हरिबहादुर भण्डारी (नेकपा माओवादी केन्द्र)
म्याग्दी ‘ख’ – रेशमबहादुर जुग्जाली (नेकपा माओवादी केन्द्र)

बागलुङः
बागलुङ १ ‘क’ – दिपेन्द्रबहादुर थापा (नेपाली कांग्रेस)
बागलुङ १ ‘ख’ – डिल्लीराम सुवेदी (नेपाली कांग्रेस)
बागलुङ २ ‘क’ – जीतबहादुर शेरचन (नेपाली कांग्रेस)
बागलुङ २ ‘ख’ – दोर्णकुमार कुँवर (नेपाली कांग्रेस)

पर्वतः
पर्वत ‘क’ – भक्तबहादुर कुँवर (नेकपा एमाले)
पर्वत ‘ख’ – मित्रलाल बस्याल (नेकपा एमाले)

स्याङ्जाः
स्याङ्जा १ ‘क’ – सीताकुमारी सुन्दास (नेकपा एमाले)
स्याङ्जा १ ‘ख’ – सुधिरकुमार पौडेल (नेकपा एमाले)
स्याङ्जा २ ‘क’ – मतगणना बाँकी
स्याङ्जा २ ‘ख’ – मतगणना बाँकी

नवलपुरः
नवलपुर१ ‘क’ – महेन्द्रध्वज जिसी (नेपाली कांग्रेस)
नवलपुर१ ‘ख’ – रोशनबहादुर गाहा थापा (नेकपा एमाले)
नवलपुर२ ‘क’ – पदमा जिसी (नेकपा एमाले)
नवलपुर२ ‘ख’– लक्ष्मणबहादुर पाण्डे (नेकपा एमाले)

गोरखाः
गोरखा १ ‘क’ – कृष्णप्रसाद धिताल (नेकपा माओवादी केन्द्र)
गोरखा १ ‘ख’ – नन्दप्रसाद न्यौपाने (नेपाली कांग्रेस)
गोरखा २ ‘क’ – फणीन्द्र देवकोटा (नेपाल समाजवादी पार्टी)
गोरखा २ ‘ख’ – सुरेन्द्रराज पाण्डे (नेपाली कांग्रेस)

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्