काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन पुगेको काठमाडौँ महानगरको डोजरलाई स्थानीयले फर्काएका छन्।

बस्ती खाली गराउन भन्दै महानगरको टोली डोजरसहित पुगेपछि स्थानीयले विरोध जनाउँदै घरेलु हतियारसहित झडपमा उत्रिएका थिए।

स्थानीयले ढुंगामुढा गरेपछि महानगरको डोजर खाली गराउनुपर्ने बस्ती भित्र नपसी फर्किएको हो। त्यस क्रममा महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहित १४ जना नगरप्रहरी घाइतेसमेत भएका छन्। पाण्डेको टाउकोमा चोट लागेको छ।

थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन महानगरको टोली डोजरसहित उक्त स्थानमा पुगेको थियो।

महानगरको टोली पुगेसँगै स्थानीयले मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्ध नारा लगाएका थिए।

आमनिर्वाचनमा मत माग्न आएका नेताहरुले डोजर लाग्न नदिने आश्वासन दिए पनि अचानक डोजर आएको भन्दै उनीहरु आक्रोशित भएका हुन्।

आफूहरुलाई व्यवस्थित नगरी हटाउन खोजेको भन्दै स्थानीयवासी महागरविरुद्ध आक्रोशित भएका हुन्। उनीहरुले ‘बालेन शाह मुर्दावाद, गरिब मार्न पाइँदैन, मर्न हामी तयार छौँ, गरिबका घर भत्काउन पाइँदैन, डोजर लगाउन पाइँदैन, बालेनजस्तो मेयर चाहिँदैन’लगायतका नारा लगाउँदै विरोध जनाएका हुन्। स्थानीयले नवनिर्वाचित प्रतिनीधिहरुसँगसमेत छलफल भइरहेकोले अचानक डोजर ल्याइनु गलत भएको भन्दै आक्रोश पोखेका छन्।

डोजर ल्याउने क्रममा महानगरले नेपाल प्रहरीका सुरक्षाकर्मीहरुसँग समन्वय नगरेको पनि देखिएको छ। महानगरले सरकारी निकायसँग छलफल नै नगरी एकैचोटि सुकुम्बासी बस्ती भत्काउन पुगेको भन्दै आलोचना भएको छ।