
मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले मोरङको कटहरी गाउँपालिकामा एकदिने रोजगार मेला आयोजना गरेको छ।
गाउँपालिकाको फलफूल तथा कृषि थोक बजारमा सोमबार आयोजित मेलाले स्थानीय तहमा रोजगारी खोजिरहेका र वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्ष्य गरेको महासंघ प्रदेश १ ले जनाएको छ।
मेला उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले बर्सेनि श्रम बजारमा आउने ५ लाख युवामध्ये ७० प्रतिशत वैदेशिक रोजगारीमा पुग्ने गरेको बताए।
कम दक्ष भएकाहरू वैदेशिक रोजगारमा जाने बढ्दो संख्यामा देखिए पनि उनीहरूले क्षमताअनुसार पारिश्रमिक न्यून पाउने गरेको उनले बताए।
मुलुकभित्र दक्ष जनशक्ति अभाव हुँदा स्थानीय उद्योग कलकारखानामा समेत विदेशी श्रमलाई प्रयोग गर्नुपर्ने अवस्था रहेको डा.बोहराले जानकारी दिए।
कार्यक्रममा कटहरी गाउँपालिकाका प्रमुख देवराज चौधरीले मेलाबाट गाउँपालिकामा रोजगारको खोजीमा रहेका युवा समुदाय लाभान्वित हुनेमा विश्वास लिए।
मेलामा होटल तथा पर्यटन क्षेत्रबाट ५ सय, निर्माण व्यवसायसम्बद्ध, करिब २ हजार ५, सेक्युरिटी कम्पनीबाट १ सय श्रमिक कामदारका लागि फर्म भरेका थिए।
यससँगै अन्य विभिन्न कम्पनीले बजार व्यवस्थापक, रिसेप्सनिस्ट, मेसिन अपरेटर, प्याकेजिङ क्षेत्रमा काम गर्न चाहने दक्ष जनशक्ति आवश्यक भएको जनाएका थिए।
मेलामा हजारभन्दा बढी संख्यामा रोजगार खोजी गरिरहेका सर्वसाधारणका लागि रोजगारको माग आह्वान गरिएको थियो।
एकदिने सो मेलामा सहभागी करिब ९ सय सर्वसाधारणले रोजगारका लागि विभिन्न कम्पनी तथा उद्योगमा सम्पर्क स्थापित गरेको महासंघले जनाएको छ।
महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले मेलाको उद्देश्यअनुरूप रोजगार खोजीमा रहेका जनशक्तिलाई रोजगारदातासम्म पुर् याउने काम भएको जानकारी दिए।
त्यसैगरी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ कार्यसमितिका पदाधिकारी, मोरङ जिल्ला प्रहरी प्रमुख शान्तिराज कोइराला, कटहरी गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारी, उद्योग व्यवसायी सहभागी थिए।
मेलाका लागि अन्तर्राष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र कटहरी गाउँपालिकाको संयुक्त आयोजनामा भएको हो।