यु–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार चौथो जित

काठमाडौँ – प्रदेश १ माथि सोमबार २ सय १३ रनको फराकिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लागातार चौथो जितलाई निरन्तरता दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले दिएको २ सय ६५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर १ ले १६.३ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रन जोड्न सक्यो।

प्रदेश नम्बर १ का लागि भुपाल दंगालले सर्वाधिक १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् भने सुदूरपश्चिम प्रदेशले १६ रन खर्चिएको थियो। प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशका हेमन्त धामीले सर्वाधिक ५ विकेट निकाल्दा आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले कप्तान अनुराग सिंह र मिलन बोहोराको अर्धशतकीय इनिङको सहयोगमा २ सय ६४ रनको योगफल बनाएको थियो। पूरै ५० ओभर खेलेको सुदूरपश्चिमले ९ विकेट गुमाउन पुगेको थियो। अर्धशतकीय पारी खेलेका कप्तान अनुरागले व्यक्तिगत ८३ रन बनाउँदा मिलनले ६४ रनको व्यक्तिगत स्कोर बनाएका थिए। यस बाहेक दीपक बोहोराले ३२ रनको योगदान गर्दा गजेन्द्र बोहोराले २४ रन बनाए।

बलिङतर्फ प्रदेश १ का अभिनय राजवंशीले सर्वाधिक ४ विकेट निकाले। यस्तै आशिस खरेल र दिपेश कँडेलले समान २/२ विकेट आफ्नो नाममा लेखाए।

यस जितसँगै सुदूरपश्चिम प्रदेशले ४ खेलबाट स्पष्ट जित हात पार्दै तालिकामा ८ अंक बनाएको छ। सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा अटाउँदा पराजित प्रदेश १ को ३ खेलबाट २ अंक छ।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्