सुकुम्बासी बस्ती खाली गर्न खोज्दा भएको झडपमा १८ नगर प्रहरी घाइते

तस्बिरः बर्षा शाह/देश सञ्चार।

काठमाडौँ – थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न गएको काठमाडौँ महानगरपालिकाको टोली र स्थानीयबीच झडप हुँदा १८ जना नगर प्रहरी घाइते भएका छन्।

महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना नगर प्रहरी घाइते भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार नगर प्रहरी शर्मिला बोगटीसहित घाइते ३ जनाको आईसीयुमा उपचार भइरहेको छ।

‘अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले खुँडाजस्ता धारिलो हतियार, ढुंगा, मुढासहितका सामाग्रीसहित उपस्थित भइ आपराधिक मनसायले एक्कासी महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएका छन्। नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धकमा लिइ गम्भीर रुपमा घाइते बनाएको कारण निजसहित तीन जना नगर प्रहरीको आईसीयुमा उपचार भइरहेको छ। अन्य नगर प्रहरीहरु समेत उपचाररत छन्,’ महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनामा संलग्नलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा पत्र पठाइएको महानगरले जनाएको छ।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्