जलवायु वार्ताबाट फर्किएपछिको समीक्षा, टोली नेतृत्व गर्ने मन्त्रीले झोक्किँदै गरिन् बहिष्कार

काठमाडौँ – जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको २७ औँ संस्करण अर्थात कोप २७ मा नेपालको उपस्थिति प्रभावकारी हुन नसकेको र आफ्नोतर्फबाट भएका प्रयासलाई पनि उचित स्थान नदिइएको भन्दै मन्त्रीले कर्मचारीतन्त्रमाथि आक्रोश व्यक्त गरेकी छन्।

वन तथा वातावरण मन्त्रालयले सोमबार सिंहदरबारको अगाडि रहेको बसेरा होटलमा त्यहाँ भएका उपलब्धी र अबको बाटो सम्बन्धी समीक्षा कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले कर्मचारीतन्त्रले नियतबस नै आफूलाई ओझेलमा पारेको बताएकी हुन्।

मन्त्री रेग्मी नेपाली टोलीको नेतृत्व गर्दै कोप २७ मा सहभागी हुन इजिप्टको शर्म एल शेख गएकी थिइन्। सोमबार भएको समीक्षा कार्यक्रम मन्त्री रेग्मीले बहिष्कार गरिन्।

उनले भनिन्, ‘पर्वतीय क्षेत्र रहेको तथा जलवायु परिवर्तनको प्रभाव पर्ने देशको नेतृत्व गरेको व्यक्तिलाई जलवायु सम्मेलनको मुख्य कार्यक्रममै बोल्न व्यवस्था गर्नुपर्ने थियो। त्यो भएन। दक्षिण एसियाली देशहरुको कार्यक्रममा मेरो सहभागिता थियो, त्यो कुरा पनि यहाँ उल्लेख छैन।’

कर्मचारीहरुले आफ्ना कुरा मात्रै प्रस्तुतिमा राखेको भन्दै आफूले बोलेका कुरा तथा सहभागी भएका सत्रबारे कुनै कुरा उल्लेख नगरिएको भन्दै मन्त्री रेग्मीले समीक्षा कार्यक्रम नै बहिष्कार गरेकी हुन्। उनी पोडिएममा गएर बोलेर झोक्किँदै बाहिरिएकी हुन्।

तत्कालीन वनमन्त्री प्रदीप यादव इजिप्ट जाने तयारी भए पनि उनको पद गएका कारण मन्त्री रेग्मीको नेतृत्वमा नेपाली टोली कोप २७ मा गएको थियो। तर त्यहाँ उनले जलवायु सम्मेलनको औपचारिक कार्यक्रममा सम्बोधन गर्ने मौका पाएकी थिइनन्।

जलवायु परिवर्तनको प्रभावको सामना गरिरहेको देशको टोलीको नेतृत्व गर्ने व्यक्तिलाई देशका मुद्दा प्रमुख सत्रमा राख्ने व्यवस्था गर्न कर्मचारीहरुले गर्न नसकेको मन्त्री रेग्मीले आरोप लगाइन्। नेपाली टोली इजिप्टमै रहेका बेला पनि आपसमा आरोप प्रत्यारोप गरेको कुरा बाहिरिएको थियो।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्