कुन दलबाट कति अनि को–को हुँदैछन् सांसद?

प्रतिनिधिसभाको बैठक कक्ष

काठमाडौँ – सोमबार रातिसम्म मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी परिणाम करिब आएको छ। प्रतिनिधिसभामा १६५ निर्वाचन क्षेत्रमध्ये १५८ को मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार वटा क्षेत्रहरु सुनसरी ३ र ४, उदयपुर १ र धनुषा ४ मा मतगणना जारी छ।

दोलखा, स्याङ्जा र बाजुरामा विवादका कारण मतगणना सुरु हुन सकेको छैन। दोलखामा १० मतदान केन्द्रमा १५ गतेका लागि पुनः मतदानको समय तोकिएको छ। समानुपातिकतर्फ पनि निर्वाचन आयोगले सोमबार राति ८ बजेसम्म ९४ लाख ५२ हजार २७६ मत गणना गरिसकको छ।

समानुपातिकमा दलहरुले पाएको मत र प्रत्यक्षतर्फ गणना सकिएका १५८ र जारी ४ क्षेत्रको परिणामले प्रतिनिधिसभामा दलहरुको आकार करिब निश्चित भएको छ। र समानुपातिकतर्फबाट निर्वाचित हुनेमा सबैजसो महिला पर्ने भएका छन्।

सबै दलले संघीय संसदमा (राष्ट्रियसभासहित) कम्तिमा ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ८४ (८) मा उल्लेख गरिएको छ, ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनु पर्नेछ।’

एक तिहाई महिलाको गणना राष्ट्रियसभामा भएकाहरुको सहित गर्नुपर्छ र अपुग समानुपातिकबाट पूर्ति गर्नुपर्छ। प्रत्यक्षमा निर्वाचित महिलाको संख्या ज्यादै न्यून हुँदा समानुपातिकबाट पूर्ति गर्नुपर्ने संवैधानिक बाध्यता छ।

कांग्रेस


चुनावमा नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ। अहिलेसम्म उसले ५३ क्षेत्रमा जित निकाल्दै ३ वटा क्षेत्रमा अग्रता कायम गरेको छ। यदि तीन क्षेत्र जित्यो भने कांग्रेसले प्रत्यक्षतर्फ ५६ सिट सुनिश्चित गरेको छ भने समानुपातिकतर्फ २४ लाख २८ हजार ८४४ मत ल्याएको छ।

यसले कांग्रेसले समानुपतिकमा कम्तिमा ३२ सिट प्राप्त गर्न सक्छ। यस हिसाबले प्रतिनिधिसभामा कांग्रेसका ८८ जना सांसद हुनेछन्। राष्ट्रिय सभामा १० जना सांसद हुँदा संघीय संसदमा कांग्रेसको ९८ हुनेछन्। जसको ३३ प्रतिशत अर्थात् ३३ जना महिला हुनुपर्छ।

अहिले प्रतिनिधिसभामा तेह्रथुमबाट सीता गुरुङ मात्रै एक जनाले कांग्रेसबाट निर्वाचित भएकी छन्। राष्ट्रियसभा कांग्रेसका कमला पन्त, दुर्गा कुमारी गुरुङ र अनिता देवकोटा तीनसहित ४ जना महिला सांसद भएका छन्।

अब समानुपातिकमा प्राप्त गरेको ३२ मध्ये २९ सिटमा कांग्रेसले बन्दसूचीबाट महिलालाई मात्रै निर्वाचित गर्नुपर्छ। त्यसपछि बाँकी रहेको तीन जनामा पुरुषले अवसर पाउन सक्छन्।

बन्द सूचीका २९ मध्ये खसआर्य महिला समूहबाट ९ जना निर्वाचित हुनेछन्। कांग्रेसले आयोगमा बुझाएको बन्दसूचीअनुसार तीन ९ जनामा अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँड, रमा कोइराला, कान्तिका सेजुवाल र मैना रावल पर्नेछन्।

त्यस्तै जनजाति क्लस्टरबाट सरस्वती बजिमय, लीलादेवि बोखिम लिम्बु, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर र मनोरम शेरचन निर्वाचित हुनेछन्।

त्यस्तै, निर्वाचन आयोगले अनौपचारिक रुपमा दिएको जानकारीअनुसाार मधेशी समूहबाट नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल समानुपातिकबाट निर्वाचित हुनेछन्। दलित समूहबाट शान्ति विक, रुपा विक, सीता मिजार र आशा विकसहित चार जना र थारु समूहबाट कल्पना थौधरी र विनाकुमारी थनेत पर्नेछन्। मुस्लिम समुदायबाट जावेदा खातुन जागा हुनेछिन्।

पुरुषतर्फका तीन जनामा खस आर्य समूहको पहिलो नम्बरमा रहेका प्रकाशशरण महत, जनजाती समूहको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ र मधेसी समूहबाट विमलेन्द्र निधि पर्न सक्छन्।

एमाले


एमालेले प्रत्यक्षतर्फ ४२ सिट जितेर एक सिटमा अग्रता कायम गरिरहेको छ। समानुपातिकतर्फ भने २५ लाख ५० हजार मत ल्याएर एमाले पहिलो स्थानमा छ। एमालेले समानुपातिकतर्फ ३४ सिट ल्याउन सक्छ।

त्यस हिसाबले एमालेको प्रतिनिधिसभामा ७७ र राष्ट्रियसभामा १५ गरी संघीय संसदमा ९२ जना हुनेछन्। जसको ३३ प्रतिशत अर्थात् ३१ जना महिला अनिर्वाय हुनु पर्नेछ।

प्रतिनिधिसभामा एमालेमा धनुषा ३ बाट जुलीकुमारी महतो, बारा ३ बाट ज्वालाकुमारी शााह, कास्की २ बाट विद्या भट्टराई निर्वाचित भइसकेका छन् भने सुनसरी ३ मा भगवती चौधरीले जित्ने लगभग निश्चित छ। राष्ट्रियसभाका १५ मध्ये सात जना महिला छन्।

यसरी संघीय संसदमा एमालेका ११ जना महिला सांसद भइसकेका छन्। अब बाँकी २० जना समानुपातिकबाट पदपूर्ति गर्नुपर्ने व्यवस्था संविधानले गरेको छ।

एमालेले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीअनुसार खस आर्य समूहबाट मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी र निर्मला कोइराला पाँच जना निर्वाचित हुनेछन्।

त्यस्तै जनजाति कल्ष्टरबाट नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती र रणकुमारी बलम्पाकी मगर निर्वाचित हुनेछन्। मधेसी समूहबाट विना देवी, अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारी मुखिया, दलितबाट रुक्मणी राना, हर्कमायाा विश्वकर्मा हुनेछन्।

थारु समुदायबाट अस्माकुमारी चौधरी, मुस्लिमबाट रुही नाज निर्वाचित हुनेछन्। बाँकी समानुपातिकको बाँकी १४ सिटमा एमालेले विभिन्न क्लस्टरबाट पुरुष लैजान सक्छ।

जसमा खस–आर्य समूहको पहिलो नम्बरमा रहेका रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौदी, दयालबहादुर शाही, जनजातिबाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, मधेसीबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, दलितबाट ईश्वरबहादुर रिजाल (विक) र प्रभु हजारा दुसाध, थारुबाट सत्यनारायण चौधरी र मुस्लिमबाट सराज अहमद फारुकीले अवसर पाउन सक्छन्।

माओवादी


माओवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १७ सिट जितेको छ। समानुपातिकमा तेस्रो स्थानमा रहेको माओवादीले पाएको मत हेर्दा उसले करिब १६ जना सांसद जित्न सक्छ। र राष्ट्रियसभामा माओवादीका १५ जना सांसद छन्। यसरी माओवादीको संघीय संसदमा ४८ जना सांसद हुनेछन्।

जसको ३३ प्रतिशत अर्थात् कम्तिमा १६ जना सांसद निर्वाचित हुनैपर्छ। अहिले प्रतिनिधिसभामा दाङ २ बाट रेखा शर्माले मात्रै जितेकी छन् भने राष्ट्रियसभामा गंगाकुमारी वेल्वासे र विना पोखरेल मात्रै सांसद छन्।

बाँकी १३ जना माओवादीले समानुपातिकको बन्द सूचीबाट पदपूर्ति गर्नुपर्छ। १३ जना महिला ल्याउँदा माओवादीबाट तीन जना मात्रै पुरुषले समानुपातिकबाट सांसद बन्ने अवसर पाउन सक्छन्।

माओवादीले खस आर्यको सूचीमा रहेका कम्तिमा पाँच जना महिलालाई पठाउन सक्छ। त्यसो हुँदा बन्दसूचीको क्रम संख्याअनुसार ज्ञानु बस्नेत, विमला सुवेदी, नारायणी शर्मा, तोत्रकुमारी अधिकारी र टिका बुढाथोकी पर्ने निश्चित छ।

जनजाति समूहबाट दुर्गा राई, मीना तामाङ र उर्मिला माझी पौडेल, मधेसी समुदायबाट मीना यादव र उमरावती देवी यादव निर्वाचित हुनेछन्। त्यस्तै, दलितको सूचीमा रहेका सुशीलादेवी सिर्पाली ठकुरी र पार्वती विक अनि थारु समुदायबाट रुपा सोमी चौधरीले सांसद बन्ने अवसर पाउने छन्।

बाँकी तीन जना पुरुषमा खर्स आर्यको पहिलो नम्बरमा रहेका हितराज पाण्डे, जनजातिको पहिलो नम्बरमा रहेका अजम्बर राई र मधेसीको पहिलो नम्बरमा रहेका रामेश्वर राय यादवले अवसर पाउनेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी


निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा दुई महिलासहित ७ जना निर्वाचित भएका छन्। उसले समानुपातिकमा करिब १५ सिट पाउन सक्ने देखिन्छ।

त्यसो हुँदा राष्ट्रियसभामा प्रतिनिधित्व नभएको स्वतन्त्र पार्टीको संघीय संसदमा २२ जना सांसद हुन सक्छन्। त्यसको ३३ प्रतिशतले हुन आउने सात जना महिला अनिवार्य चाहिन्छ। स्वतन्त्र पार्टीमा काठमाडौँ २ बाट सोवित गौतम र ललितपुर ३ बाट तोसिमा कार्की निर्वाचित भएकाले बाँकी पाँच जना महिला समानुपातिकको सूचीबाट लैजानुपर्ने हुन्छ।

त्यस्तो अवस्थामा खस आर्यबाट चन्दा कार्की र निशा डाँगी, जनजातिको पहिलो नम्बरमा रहेकी इन्दिरा रानामगर, मधेसी सूचीबाट लक्ष्मी तिवारी र दलितबाट कल्पना रोक्का निर्वाचित हुनेछन्।

बाँकी १० सिटमा स्वतन्त्र पार्टीले पुरुष पठाउन सक्छ। बन्दसूचीमा समावेश भएको नामअनुसार खस आर्यबाट डोलप्रसाद अर्याल, गणेश कार्की र दीपकराज बोहरा निर्वाचित हुनेछन्।

त्यस्तै जनजातिबाट ढाकाकुमार श्रेष्ठ, मेघबहादुर आले, विष्णुकुमार श्रेष्ठ, मधेसीबाट मनीष झा, तपेश्वर यादव दलित कोटााट सन्तोष परियार र थारुबाट अशोक चौधरीको बलियो संभावना छ।

राप्रपा


राष्ट्रियसभामा प्रतिनिधित्व नभएको राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जितेको छ। उसले समानुपातिकबाट ८ सिट पाउने गरी मत पाएको छ। त्यसो हुँदा राप्रपाबाट संसदमा १५ जना हुनेछन्।

त्यसको ३३ प्रतिशत महिला हुँदा ५ जना आवश्यक पर्छ। निर्वाचित सबै पुरुष भएकाले उसले समानुपातिकबाट पाएको आठमध्ये कम्तिमा पाँच जना महिलालाई स्थान दिनुपर्छ।

पाँच महिलामा खस आर्यबाट रोशन कार्की र गीता बस्नेत, जनजातिबाट विना लामा, मधेसीबाट विना जयसवाल र दलितबाट अनिशा नेपाली पर्नेछन्।

तीन पुरुषमा खस आर्यको पहिलो नम्बरबा पशुपति शमशेर जबरा, जनजातिबाट बुद्धिमान तामाङ र मधेसी लिष्टको पहिलो नम्बरमा रहेका प्रह्लादप्रसाद शाहले संसद छिर्ने अवसर पाउनेछन्।

जसपा


जसपाले प्रतिनिधिसभाको प्रत्यक्षमा सातजना पुरुषले जितेका छन्। समानुपातिकमा कम्तिमा ३ प्रतिशत कटाएको उसले चार सिट पाउने निश्चित भएको छ। राष्ट्रियसभामा एक महिला सांसद रहेको जसपाको संघीय संसदमा १२ जना हुनेछन्।

त्यस्तो अवस्थामा जसपाले चार जना महिला पुर्याउनुपर्छ। एक राष्ट्रियसभामा भएकाले बाँकी तीनजना समानुपातिकको सूचीबाट लानुपर्नेछ। खस आर्यसूचीको पहिलो नम्बरमा रहेकी रेखा यादव थापा, जनजातीबाट शुशीला श्रेष्ठ र मधेशीबाट रञ्जुकुमारी झाले सांसद बन्ने अवसर पाउनेछन्। बाँकी एक सिटमा जसपाले बन्दसूचीबाट पुरुषलाई सांसद बनाउन सक्छ।

जनमत पार्टी


त्यस्तै प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत थ्रेस होल्ड कटाउने कसरतमा छ। उसले तीन प्रतिशत कटाएको अवस्थामा न्युनतम दुईजना महिलासहित चारजना सांसद समानुपातिकाबाट निर्वाचित गर्न पाउँछ।

एकीकृत समाजवादी


प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीको राष्ट्रियसभामा पाँच महिलासहित आठ जना सांसद छन्। उसले तीन प्रतिशतको थ्रेस होल्ड कटाउन मुस्किल देखिन्छ।

यदि कटाएको अवस्थामा उसले पाउने न्युनतम ४ जनामध्ये २ जना महिलालाई बन्दसूचीबाट सांसद बनाउनुपर्छ। किनकि प्रतिनिधिसभामा १०, माथिल्लो सभामा आठ र न्यूनतम थ्रेस होल्डबाट थपिने चारसहित एकीकृत समाजवादीको संघीय संसदमा २२ जना सांसद हुनेछन्। त्यसको ३३ प्रतिशत सात हुन आउँछ।

निर्वाचन आयोगले मंसिर २५ गतेभित्र चुनावको प्रतिवेदन राष्टपति समक्ष बुझाउने गरी तयारी गरिरहेको छ।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्