भिडियो स्टोरी

एउटा कुशल चिकित्सकको राजनीतिक यात्रा

एक अब्बल डाक्टरका रुपमा परिचित भइसकेकी छन्, उनी। आफ्नो पेसालाई विश्राम लगाएको केही महिना मात्रै भयो।

उमेरले ६० पुगे पनि उनको जोश जाँगर हेर्दा युवाभन्दा कम देखिँदैन। यो कुरा अहिलेको चुनावमा देखियो पनि। समानुपातिक उम्मेदवार बनेपछि नयाँ उर्जा थपिएको छ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. चन्दा कार्कीलाई।

चिकित्सा पेसामा भिजेकी उनले नयाँ बाटो तय गरेकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीको दोस्रो नम्बरमा सामेल गरेको छ। समानुपातिकबाट डा. कार्की सांसद हुने पक्काजस्तै देखिएको छ।

अहिले नै टुङ्गो लागिनसके पनि आफू सांसद भएको खण्डमा आफूले जानेबुझेका कुराहरु बाँड्दै गर्दा देशलाई केही न केही प्रभाव पर्नेमा विश्वस्त छिन्, उनी। अबको १५ वर्षसम्म पनि आफू खटेर काम गर्न सक्नेमा उनी ढुक्क छिन्।

डा. कार्कीको पढाइ


आमा बिरामी परिरहन्थिन्। बिरामी आमाले पाएको दुःख देख्दा उनलाई नर्स बन्न मन लागेको थियो। नर्स भएपछि आमाको स्वास्थ्यको ख्याल राख्न सकिला कि भन्ने उनको मनमा आइरहन्थ्यो। सपनालाई पछ्याउन सघाइन्, उनकी आमाले।

उनकी आमा सधैँ भन्ने गर्थिन्,‘छोरीमान्छेले धेरै पढ्न पर्छ।’

त्यसो त मधेसमा छोरीलाई पढाउनु पर्छ भन्ने सोच कमैको थियो, त्यो बेलामा। उनी राम्रो पढ्दै गइन्।

मोहत्तरीको श्रीप्रसाद हाई स्कूलमा आठ कक्षाको पढाइ भर्खरै सकेकी थिइन्। त्यहीबेला उनकी आमा सिकिस्त बिरामी परिन्। डा. कार्कीको मामा घर काठमाडौँको कमलपोखरीमा छ। माइतीमा बसेर उपचार गराउने भन्दै उनकी आमा काठमाडौँ आइन्। आमाको हेरचाह गर्न उनी पनि आमासँगै काठमाडौँ आइन्।

बिरामी आमाको हेरचाहका लागि आएकी डा. कार्की पढिरहन्थिन्। उनको पढाइप्रतिको लगाब देखेर उनका मामा मोहन विक्रम थापाले उनलाई पढाउन जरुरी ठाने। काठमाडौँमा धेरै स्कुलहरु चाहारे भान्जीलाई भर्ना गरिदिनका लागि। तर डा. कार्कीले स्कुलमा भर्ना पाउन मुस्किल भयो। उनी मधेसबाट भएका कारण पढ्न नसक्ने भन्दै धेरैले भर्ना लिएनन्।

उनका मामाले गरेको अनुनय विनयलाई नकार्न नसकेपछि डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रमले भर्ना लियो। उनी स्कुल भर्ना भएपछि कक्षामा कहिल्यै पनि दोस्रो भइनन्। एसएलसीमा पनि पहिलो श्रेणीमा पास भएपछि कमला ‘गोल्ड मेडल’ पाएकी थिइन्।

अब भने नर्सबाट उनको सपना ‘डाक्टर’तिर मोडियो। आफू डाक्टर हुनुको श्रेय उनी आफ्नी आमालाई नै दिन्छिन्। त्यसपछि उनले आइएससी अमृत साइन्स क्याम्पसबाट गरिन्। आइएससी गरिसकेपछि उनी आरजिकर मेडिकल कलेज कलकत्तामा पढ्न गइन्।

त्यो बेला एमबीबीएसको पाँच वर्षको कोर्स हुन्थ्यो। पढाइ सकिएपछि उनले एक वर्ष उतै भारतमा इन्टर्नसीप गरिन्। र नेपाल फर्किन्।

त्यस्तै, उनले डिजीओ बङ्गलादेशबाट र एमएस त्रिवि शिक्षण अस्पतालबाट गरिन्।

डाक्टरी यात्रा


एमबीबीएसपछि उनी नेपाल फर्केर भोजपुरमा काम गर्न पुगिन्। त्यो बेला भोजपुर अस्पतालमा कुनै सेवा सुविधा थिएन। तर हप्ताको भने दुई दिन हवाई उडान हुन्थ्यो। त्यहाँ डा. कार्कीले दुई वर्ष काम गरिन्।

केही पनि सुविधा नभएको ठाउँमा काम गरेर बस्नु उनका लागि ठूलो चुनौती थियो। अस्पतालमा चाहिने सामाग्री जुटाउन आफूले गर्न सक्ने सबै काम उनले त्यो बेला गरिन्। अस्पतालको मुहार केही हदसम्म फेरियो। उपचारको पहुँच सहज हुन थाल्यो।

त्यसैले त अहिलेसम्म पनि भोजपुरवासीले उनको त्यो गुण बिर्सेका छैनन्।

त्यसपछि उनी स्थायी भएर १५ वर्षसम्म विभिन्न सरकारी अस्पतालहरुमा काम गरिन्। र उनले सरकारी सेवालाई यहीँ बिट मारिन्।

अनि काठमाडौँ मेडिकल कलेजमा काम सुरु गरिन्। दुई पटक काठमाडौँ मेडिकल कलेजको प्रमुख कार्यकारी अधिकृत भइन्। अस्पतालको नेतृत्व गर्ने पहिलो महिला डा. कार्की हुन्। उनले गत वर्ष अस्पतालबाट बिदा लिइन्। त्यहाँ उनले २१ वर्षसम्म काम गरिन्।

मेडिकलबाट राजनीतिक यात्रा


उनले धेरै बिरामीको सेवा गरिन्। तीन दशकभन्दा बढी उनले बिरामीसँगै बिताइन्। बिरामीको पीडालाई नजिकबाट नियाल्ने अवसर उनले पाएकी छन्। नागरिकले पाउनुपर्ने सामान्य सेवा सुविधाहरु पनि नपाएको देख्दा उनलाई दिक्क लाग्छ।

अब परिर्वतन गर्नै पर्छ भन्ने उनलाई लागेको छ। यही बेला डा. कार्कीलाई राष्ट्रय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिमा आउन प्रस्ताव गरे। नयाँ पार्टी उनलाई झट्टै विश्वास गरिहाल्न मन लागेन। स्थापित भइसकेका पार्टीका कार्यकर्ताहरुको हबिगत उनले नदेखेको पनि होइन।

तर उनलाई लामिछानेले सबै कुरा बुझाए। आफ्नो पार्टीको सिद्धान्तका बारेमा सम्झाए। डा. कार्की लामिछानेको कुरामा ‘कन्भिन्स’ भइन्। र समानुपातिक उम्मेदवारका लागि तयार भइन्।

उनले भनिन्, ‘प्रत्यक्षबाट उठ्नका लागि सकिँदैन पनि। अहिले मलाई भोट देऊ भन्दै हिँड्न त सकिन्थ्यो होला। तर, त्यो कुरा मेरा लागि सम्भव थिएन।’

मेडिकल संसारमा रमाइरहेकी उनलाई राजनीतितिर अगाडि बढुँला भन्ने कहिल्यै पनि लागेको थिएन।

पार्टीमा युवाको बाहुल्य


आफ्नो पार्टीमा युवाहरुको उत्साह देख्दा आफूलाई गर्वको महसुस हुने डा. कार्की बताउँछिन्।

‘राष्ट्रय स्वतन्त्र पार्टीमा जति पनि युवाहरु आउनु भएको छ, आई एम सो प्राउड अफ देम’, उनले भनिन्,‘त्यो उमेरमा मेरी यति बुद्धि थिएन। डा. तोसिमा कार्की, सोबिता गौतम, शिशिर खनाल, गणेश पराजुलीलगायतलाई हेरौँ। यस्ता युवाहरु हुनुहुन्छ, जसले देश परिर्वतन गछौँ भनेर आउनु भएको छ। पढेलेखेका व्यक्तिहरु हुनुहुन्छ, मात्र के छ भने संसदीय व्यवस्था कस्तो हुन्छ भन्ने कुरा थाहा छैन।’

हुन त संसदीय व्यवस्थाको कुरा डा. कार्कीलाई पनि थाहा छैन। उनी यो विषयमा अध्ययन गरिरहेकी छन्। कुनै पनि व्यक्ति कुनै पनि पोष्टमा दुई कार्यकालभन्दा धेरै बस्नु हुँदैन भन्ने उनलाई लाग्छ।

उनी भन्छिन्,‘युवा र वयस्कमा ग्याप छ। युवाले अर्कै कुरा चाहेको छ, उनीहरुको इनर्जी अर्कै छ। उनीहरुको एक्स्पेक्टेसन कहीँ मिट गरेन कि भन्ने कुरामा युवाहरु आएको खुसीको कुरा हो। उनीहरुलाई हामी कहाँ सर्पोट गर्न सक्छौँ, त्यहाँ सर्पोट गर्दिने हो।’

सबैभन्दा मुख्य कुरा काम गर्दा इमान्दारीता हुनैपर्ने डा. कार्की बताउँछिन्।

सांसदपछि चिकित्सा पेसा !


‘एउटा नागरिकको हिसाबले जति जनाकारी दिएको छु, त्यही हो। मैले राजनीति गरेर राजनीति सिकेको होइन’, उनले भनिन्, ‘तर राजनीति गर्ने व्यक्तिले एउटा–एउटा पेसा समात्नु पर्छ। समयले कति भ्याउँछ, त्यो आफ्नै ठाउँमा छ। इमान्दार भएर काम गर्‍यो भने ९ देखि ४ बजेसम्म संसदको काम गरेर पनि काम गर्न सकिन्छ।’

राजनीतिमा लाग्नेबित्तिकै आफूले गरिरहेको पेसा नै छोड्नु पर्छ भन्ने उनलाई लाग्दैन। समयले भ्याएसम्म उनी आफूले आफ्नो सीप गर्ने योजनामा छिन्।

उनले भनिन्, ‘त्यो मेरो सिप हो। म साँझ ४ बजेपछि गर्न सक्छु, बिहान ४/५ बजेदेखि काम गर्दै आएको मान्छे हुँ म।’

हुन त उनले गर्ने काममा ‘टिम वर्क’ हुन्छ। सोहीअनुसार उनी समय मिलेसम्म आफ्नो पेसालाई निरन्तरता दिने योजनामै छिन्।

पूरा भिडियो हेर्नुहोस्:

मंसिर १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्