बाराबाट तीन पूर्वमन्त्री विजयी हुँदा बहालवाला मन्त्री पराजित

वीरगञ्ज – मंसिर ४ गते भएको निर्वाचनमा बाराबाट चुनाव लडेका बहालवाला एक मन्त्री र एक जना पूर्वमन्त्री पराजित भएका छन् भने तीन जना पूर्वमन्त्री विजयी भएका छन्।

जिल्लामा रहेका चार प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट बहालवाला एक जना र चार जना पूर्वमन्त्री चुनाव लडेका थिए। जसमध्ये बहालवाल खानेपानी मन्त्री उमाकान्त चौधरी र पूर्व युवा तथा खेलकुदमन्त्री एकबाल मियाँ पराजित भएका छन्।

क्षेत्र नम्बर १ बाट पाँच दलीय गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मन्त्री चौधरी एमाले–जसपा गठबन्धनका उम्मेदवार अच्युत मैनालीसँग पराजित भए। मैनाली ३९ हजार १९५ मतका साथ विजयी हुँदा चौधरीले ३० हजार ५६ मत प्राप्त गरे।

०७४ सालमा यसै क्षेत्रबाट जितेर गएका चौधरी हाल संघीय सरकारमा खानेपानी मन्त्री छन्।

यस्तै पूर्व युवा तथा खेलकुदमन्त्री एकबाल मियाँ पनि चुनावमा पराजित भएका छन्। क्षेत्र नम्बर ४ मा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका मियाँ पाँच दलीय गबठन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठसँग पराजित भएका हुन्।

श्रेष्ठ पनि पूर्वमन्त्री हुन्। श्रेष्ठले ३० हजार ३४१ मत ल्याएर विजयी हुदा मियाँले २० हजार ३३६ मत ल्याए। ०७४ सालमा तत्कालीन राजपाबाट यसै क्षेत्रबाट चुनाव जितेर मन्त्री भएका मियाँ चुनावको मुखमा पार्टी त्यागेर एमालेमा गइ टिकट लिएका थिए।

बाराबाट चुनाव लडेका तीन जना पूर्वमन्त्री भने चुनाव जित्न सफल भएका छन्। चुनाव जित्नेमा रामसहाय यादव, ज्वाला साह र किसान श्रेष्ठ रहेका छन्।

क्षेत्र नम्बर २ बाट एमाले–जसपा गठबन्धनबाट चुनाव लडेका जसपा नेता एवं पूर्व वन तथा वातावरणमन्त्री राम सहाय यादव विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गरे। यादवले १३ हजार ८२२ मत प्राप्त गरि विजयी हुँदा कुशवाहाले १३ हजार ४६८ मत ल्याए। ०७४ सालमा यसै क्षेत्रबाट पूर्वमन्त्री यादव २८ हजार १८५ मत प्राप्त गरी विजयी भएका थिए।

यस्तै क्षेत्र नम्बर ३ बाट नेकपा एमालेबाट चुनाव लडेकी पूर्व कृषिमन्त्री साह २० हजार २५१ मतका साथ विजयी भइन्। उनले ०७४ सालमा यसै क्षेत्रबाट जितेका जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामबाबु यादवलाई २ हजार ९७२ मतान्तरले पारजित गरिन्। यादवले १७ हजार २७९ मत प्राप्त गरे।

यस्तै, क्षेत्र नम्बर ४ बाट चुनाव लडेका पूर्व श्रममन्त्री नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ ३० हजार ३४१ मत प्राप्त गरी विजयी बने।उनले पूर्व युवा तथा खेलकुदमन्त्री एकबाल मियाँलाई पराजित गरे। श्रेष्ठ मियाँभन्दा १० हजार ५ मतान्तरका साथ विजयी बने।

०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार भइ श्रेष्ठले तनहुँ–२ बाट कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गरेका थिए। यसपालि गठबन्धनका कारण बारा–४ बाट उनी चुनाव लडेका थिए।

मंसिर १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्