नेदरल्याड्स र सेनेगल अन्तिम १६ मा, आयोजक कतार सबै खेलमा पराजित

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ए बाट युरोपेली देश नेदरल्याड्स समूह विजेता तथा अफ्रिकी देश सेनेगल उपविजेताका रुपमा नकआउट चरणमा पुगेका छन् ।

समूह चरण अन्तर्गत मंगलबार राति भएका आआफ्ना खेलमा जित निकाल्दै उनीहरुले अघिल्लो चरणको यात्रा तय गरेका हुन् । नेदरल्याड्सले आयोजक कतारलाई २ ० ले पराजित गरेको हो ।

उसको जितमा २६ औँ मिनेटमा गाक्पो तथा ४९ औँ मिनेटमा डी जोंगले गोल गरे । दुई खेलमा जित र एकमा बराबरी गरेको नेदरल्याड्स ७ अंकसहित समूह विजेता बन्यो ।

सेनेगलले दक्षिण अमेरिकी देश इक्वेडरलाई हराएर समूह उपविजेताका रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो । सेनेगलले इक्वेडरलाई मंगलबार राति भएको खेलमा २ १ ले पराजित गरेको हो । उसका लागि ४४ औँ मिनेटमा पेनाल्टी मार्फत सार तथा ७० औँ मिनेटमा कौलिबालीले गोल गरे । इक्वेडरका लागि ६७ औँ मिनेटमा काइसेडोले एक गोल गरे ।

दुई खेलमा जित र एकमा पराजित भएको सेनेगल ६ अंकसहित समूह उपविजेता बनेको हो । चार अंक बनाएको इक्वेडर भने समूह चरणबाटै बाहिरिन बाध्य भयो । आयोजक कतार भने एक खेल पनि नजिती बाहिरीएको हो ।

अन्तिम १६ मा नेदरल्याण्ड्सले अमेरिका तथा सेनेगलले इंग्ल्याण्डसँग खेल्ने छन् ।

मंसिर १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्