बैंककाे नाफा घट्दैमा अर्थतन्त्रमा देखिएका समस्या समाधान हुन सक्दैन: पवन गाेल्यान

पवन गोल्यान। फाइल तस्बिर।

काठमाडाैँ- बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरूको नाफा १५ प्रतिशत घट्ने बताएका छन्।

नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दा पनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताएका हुन्।

उनले मौद्रिक नीतिको समीक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरूको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे।

उनले बैंकहरूको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने बताए।

अध्यक्ष गोल्यानले भने, ‘मौद्रिक नीतिको समीक्षामा बैंकको ब्याजदर खुकुलो बनाउन खोजेको छ। बैंकहरूको नाफा घटाएर नै स्पेडदर घटाएको हो। अब बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्छ। बैंकको नाफा घटाउनु अर्थतन्त्रमा देखिका समस्या समाधानको उपाय हाेइन। राष्ट्र बैंक भनेको बैंकहरूको अभिभावक हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना बुबाआमाले छोराछोरीलाई माया नगर्दाको अवस्था जस्तो भएको छ। बैंकको ब्याजदर घटाउने अन्य तरिकाहरू पनि छन्।
राष्ट्र बैंकले बैंकहरुको ब्याज घटाउनै पर्छ। निक्षेपको ब्याज नघटाए कुनै उपाय नै छैन।’

उनले मौद्रिक नीतिको समीक्षा बैंकहरूलाई मात्रै टार्गेट राखेकाले बैंकहरू धरासायी हुने बताए।

उनले मौद्रिक नीतिमा लागू गर्ने भनिएको दोहोरो ब्याजदर प्रणाली तत्काल लागू गर्न मागसमेत गरे।

अध्यक्ष गोल्यानले तरलता बढी भएको बेलामा बैंकहरूले जथाभावी कर्जा दिँदा समस्या भएको पनि बताए।

चालु पुँजी कर्जा नीतिको विषयमा बैंक तथा व्यवसायीहरूलाई स्पष्ट रुपमा बुझाउन सक्नुपर्ने उनकाे भनाइ छ।

मंसिर १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्