संसदीय व्यवस्थामा चाहना राख्दैमा प्रधानमन्त्री भइँदैन : शेखर काेइराला (भिडियाे)

माेरङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धर्म संस्कृतिले मुलुकलाई सम्बृद्धितर्फ अघि बढाउने बताएका छन् ।

बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले यस्ताे बताएका हुन्।

उनले भने, ‘धर्म र संस्कृतिको संरक्षण जरुरी रहेको छ। यसको संरक्षण गर्न सक्यौँ भने हाम्रो समाज, मुलक सभ्य हुनेछ र मुलुकमा सम्बृद्धि कायम रहनेछ।’

चुनावकाे बेला एक भएका दल एकै स्थानमा रहेको र सरकार गठनका लागि अन्य केही दलसमेत जोडिन सक्ने नेता काेइरालाकाे भनाइ छ।

कांग्रेसको नेतृत्वमा सरकार बन्ने र प्रधानमन्त्रीका लागि कांग्रेसका नेताहरूबाट अभिव्यक्ति आइरहेको सन्दर्भमा उनी भन्छन्, ‘यो संसदीय व्यवस्थामा चाहना राख्दैमा प्रधानमन्त्री भइन्छ भन्ने होइन। चाहना राख्न पाइन्छ तर संसदीय व्यवस्था अंक गणित आवश्यक हुन्छ भन्ने बुझ्न जरुरी छ। पार्टीभित्र संसदीय दलको नेता हुनुपर्‍याे। त्यसका लागि हामी सबैसँग संवाद छलफल गर्छौँ।’

अब बन्ने मन्त्रिमण्डलमा नेता काेइराला सहभागी हुने सम्भावनाबारे एक सञ्चारकर्मीले जिज्ञासा राखेका थिए।

‘मन्त्रीमण्डलको विषयमा अहिले भनिहाल्ने अवस्था छैन। तर सरकारको विषयमा पार्टी सभापतिदेखि सबै साथीहरूसँग छलफल भने हुनेछ’, उनले भने।

मुलुकमा सुशासन अत्यन्त आवश्यक भएको बताएका नेता कोइरालाले सुशासन विना मुलुक नचल्ने पनि बताए।

‘मुलुकको आर्थिक अवस्था धराशायी अवस्थामा छ। हाम्रो प्राथमिकतामा भ्रष्टाचार न्यूनीकरण रहेको छ। भ्रष्टाचार गरेका नेताबारे संसददेखि सडकसम्म उत्रिनेछौ। यसमा कुनै संदेह छैन’, उनले भने।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्