धनगढीमा ग्रेडरले च्यापेर बालिकाकाे मृत्यु, विद्यार्थी र स्थानीय आन्दालित

धनगढी- धनगढीमा ग्रेडरले कुल्चिएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेकी प्रहरीले जनाएकाे छ।
उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिक ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा साइकलयात्री साउँदलाई सामान्य चाेट लागेकाे थियाे।
सामान्य चाेट लागेकी बालिकालाई ग्रेडर चालकले पुन: ब्याक गरेर जबरजस्ती मारेकाे प्रत्यक्षदर्शीले बताएका छन्। राेकराेक भनेर आग्रह गर्दा पनि नमानेर च्यापेकाे स्थानीयकाे आराेप छ।
चालक चितवन भरतपुर महानगरपालिका- २८ बस्ने २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
साउँदकाे शव घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
अहिले मृतक बालिका पढने विद्यालयका विद्यार्थी र स्थानीयले घटनास्थलमा प्रदर्शन गरिरहेका छन्।