‘सायरा’ नेपालसँगै विश्वभर एकसाथ रिलिज हुने

काठमाडाैँ- बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने नेपाली चलचित्र ‘सायरा’ को विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ।

हालै काठमाडौँमा चलचित्र प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’ बारे सम्झौता गरेका छन्।

‘पावनी फिल्म्सले विश्वभर चलचित्रलाई प्रमोसन गर्नेछ। हामीलाई चलचित्र निर्माणमा यसले झनै मद्दत पुगेको छ’, प्रस्तुतकर्ता परियारले बताए।

पावनी फिल्मका प्रबन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए।

‘नेपाली फिल्मको मेकिङअनुसार अझै बजार पाउन सकेको छैन। यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौँ। नेपाली-इण्डो फिल्म भएकाले हामीले यसबाट धेरै आश राखेका छौँ’, चौधरीले भने।

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने चलचित्रमा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित भएका छन्।

नेपाली व्यानर डिबीआर मेडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुँदैछ।

यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ। यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो।

 

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्