ललितकलासँग सम्बन्धित सामग्रीहरूकाे आयात शुल्क छुट गर्नुपर्छ: के के कर्माचार्य

काठमाडाैँ- नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ।

बिहीबार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १३ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकलासम्बन्धी विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताए।

उनले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरूको निर्यातमा सुविधा दिनुपर्ने बताए।

कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रस लगायत अन्य सामग्रीहरूको आयात शुल्क छुट गर्नुपर्ने उनकाे भनाइ छ।

कुलपति कर्माचार्यले सातवटै प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिहरूलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउनुपर्ने व्यवस्था हुनुपर्ने र सबै क्षेत्रहरुमा प्रतिष्ठानका शाखा कार्यालयहरूको व्यवस्था हुनुपर्ने उल्लेख गरे।

यस्तैगरी, प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनीजस्ता अन्तर्राष्ट्रियस्तरका गतिविधि हुनुपर्नेमा पनि जोड दिएको छ।

अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारहरुहरुलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने पनि कुलपति कर्माचार्यले बताए।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्