बेल्जियमलाई जित्नैपर्ने दबाब

विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’को अन्तिम तथा निर्णायक खेलमा बेल्जियम जित्नु पर्ने दबाबमा रहेको छ। नकआउट चरणमा स्थान बनाउनका लागि बिहीबार बेल्जियम र क्रोएसिया प्रतिस्पर्धा गर्दा दुबै टिम सहज जित निकाल्दै नकआउटमा स्थान बनाउन चाहन्छन्।

रोचक बनेको समूह ‘एफ’को समीकरणमा गत संस्करणको उपविजेता क्रोएसिया र तेस्रो स्थानमा रहेको बेल्जियममध्ये एक टिम बाहिरिने जोखिम बढेको छ। साविक उपविजेता क्रोएसियालाई अन्तिम–१६ मा स्थान बनाउन बराबरी पर्याप्त रहँदा हारेको खण्डमा भने उसको अघिल्लो चरणको सम्भावना क्यानडा र मोरक्कोबीचको नतिजाले तय गर्नेछ।

क्रोएसिया र मोरक्को समान चार अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेको बेल्जियमको तीन अंक छ।

अंकविहीन क्यानडा प्रतियोगिताबाट बाहिरिइसकेको छ। क्रोएसियाले बेल्जियमलाई हराए मोरक्कोले हारेर पनि अर्को चरणमा स्थान बनाउन सक्ने छ। क्रोएसियाले बेल्जियमसँग बराबरी खेले र मोरक्को हारे बेल्जियम र मोरक्कोबीच गोलअन्तरको हिसाब हुनेछ।

मोरक्कोले समूहको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा बेल्जियमलाई २–० ले हराएको थियो।

बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो। क्यानडा बेल्जियमसँग १–० तथा दोस्रो खेलमा क्रोएसियासँग ४–१ ले हारेर प्रतियोगताबाट बाहिरिइसकेको छ।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्