यु–१९ राष्ट्रिय क्रिकेटः लुम्बिनीद्वारा प्रदेश–१ पराजित

काठमाडौँ – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ।

आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो। प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा देव खनालले सर्वाधिक १९ रनको योगदान दिए भने आकाश त्रिपाठीले १७ रन जोडे। त्यस्तै प्रज्वल थापाले १५ रन बनाउँदा विशाल भुसाल ८ रनमा अविजित रहे।

हारसँगै प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ। प्रदेश–१ का लागि कप्तान दिपेश कँडेलले तीन विकेट लिए भने विपिन महतोले १ विकेट लिए। त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनमा समेटिएको थियो। प्रदेश १ का लागि शुभम गहतराजले २२ रन जोडे भने स्टाइन रिजालले १९ रन बनाए। त्यसबाहेकका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका निर्मल गुरुङले ५ विकेट लिए भने दुर्गेश गुप्ताले २ तथा अभिशेक गौतम र तुलबहादुर थापाले समान १/१ विकेट लिए। जितसँगै लुम्बिनीले ५ खेलबाट ८ अङ्क बनाएको छ। समान ५ खेलबाट ४ अङ्क भएको प्रदेश १ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो।

प्रतियोगितामा मधेस प्रदेश, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन्।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्