मलका लागि कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय धाउँछन् किसान

वीरगञ्ज – पर्सा बहुदरमाई नगरपालिकाका नथुनी साह मल नपाएर तीन दिनदेखि कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगञ्जमा धाइरहेका छन्।

गाउँमै रहेको डिलरमार्फत मल नपाएपछि उनी कम्पनीको कार्यालयमै आइपुगेका हुन्। मल नदिने भए बरु सरकारले किसानलाई मारिदिनुपर्ने साहको भनाइ छ।

‘हामीलाई मल चाहियो न डिलरले दिन्छ न यहाँ कार्यालयमा आउँदा हाकिमले नै दिन्छन् यसरी कसरी किसानको खेती हुन्छ,’ उनले प्रश्न गरे ‘तीन दिनदेखि घुमेर फर्किंदै छु, मल पाएको छैन, भारतीय मलको ३५ सय पर्छ किसानलाई एकदमै गाह्रो छ,’ उनले भने, ‘सोही स्थानका मुखिलाल हजराको पनि समस्या त्यही छ। गहुँ छर्नेबेलामा जहाँ खोजे पनि एक केजीसमेत मल नपाएको हजराले गुनासो गरे।

उनले किसानलाई एक बोरा मलका लागि पनि कम्पनीको कार्यालयदेखि नगरपालिकासम्म धाउनुपर्ने बाध्यता रहेको बताए।

विभिन्न ठाउँमा धाउँदासमेत चाहेको बेलामा मल नपाएकाले खेती बर्बाद हुने उनले दुखेसो पोखे।

उनले भने, ‘मल त डिलरले पनि दिएको छैन मेयर हाकिम कसैले किसानलाई दिएको छैन,’ हाकिम साबलाई भन्दा पालिका प्रमुख वडाध्यक्षसित गएर भन्नुस् भन्छन्।’

मंसिर ४ गते सम्पन्न निर्वाचनमा जितेका पर्साका सांसद प्रदेश सांसद पनि कम्पनीको प्रादेशिक कार्यालयदेखि, जिल्ला प्रशासन कार्यालयसम्मै पुगेर किसानलाई सहज रुपमा मल उपलब्ध गराइदिन भनेका थिए।

पर्साको निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद प्रदीप यादव कृषि सामग्री कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयमा गएर कार्यालय प्रमुखसँग मलबारे छलफल गरेका थिए।

क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्य (सांसद) अजयकुमार चौरसियासहितका एक टोली भने जिल्ला प्रशासन कार्यालय पर्सामा पुग्यो।

उनीहरूले पनि किसानका लागि मल आपूर्ति सहज बनाउन सरोकारवाला निकायलाई निर्देशन दिइसकेका छन्।

चौरसियासँगै प्रदेशसभा सदस्यमा निर्वाचित श्याम पटेल र रमेश कुर्मीसहितको टोलीले प्रमुख जिल्ला अधिकारी र मल आपूर्ति गर्ने सरोकारवाला अधिकारीहरूसँग छलफल गरेकोे थियो।

तर, मलखाद लिन डिलरमा जाँदा त्यहाँ पार्टीगत रुपमा नजिक रहेका नेता–कार्यकर्तालाई मात्रै पाउने गरेकाले चार दिनदेखि कम्पनीको कार्यालयमै आइपुगेका छन् वीरगञ्ज महानगर– २९ का किसान हीरा महतो।

उनले मलको समस्या धेरै दिनदेखि रहेकाले आम किसानलाई मलको समस्या समाधान गर्न जितेका नेता पनि लाग्नुपर्ने बताए।

टोलमा रहेको डिलरले मल नरहेको बताएपछि महतो वीरगञ्जस्थित कार्यालयमै तीन दिनदेखि पुगिरहेको महतोको भनाइ छ।

‘जसको पावर छ उनीहरू थपी–थपी लग्दै छन्,’ उनले भने, डिलरकहाँ जाँदा पनि पार्टीगत रूपमा वितरण गरिन्छ, हामी आमकिसानलाई समस्या भइरहेको छ।’

कम्पनीका हाकिमसित नजिक र सोर्सफोर्स भएका व्यक्ति र डिलरले पहिले मल पाउने गरेको तर आमकिसानले भने न डिलरकहाँ मल पाइन्छ न त कम्पनीले नै दिने गरेको बहुदरमाई नगरपालिका–४ का किसान बिन्देश्वर यादवको भनाइ छ।

उनले डिएपीको बेला युरिया र युरियाको बेला डिएपी दिने चलन अन्त्य गर्न माग गरे। पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा रहेको बेलमाई कृषि सहकारी संस्थाका डिलर निरज प्रजापतिले स्थानीय निकाय तोकेर पछिल्लो समय वितरण भइरहेको मलको कोटाका कारण पर्सामा मलको हाहाकार भएको बताए।

उनले अहिले डिएपी मलको आवश्यकता भए पनि मागको तुलनामा निकै कम मल पाउँदा किसानलाई पाँच किलो दश किलो गरेर दिनुपर्ने बाध्यता रहेको प्रजापतिले बताए।

‘पहिले–पहिले ठीक थियो, अहिले आएर जबदेखि यो स्थानीय तहअनुसार कोटा लागू गरियो त्यही बेलादेखि समस्या भयो,’ उनले भने, ‘चाहिने ठाउँमा मल जाँदैन, नचाहिएको ठाउँमा भने मल गइरहेको छ, यसमा ध्यान दिन जरुरी छ।’

कम्पनीस्थित प्रादेशिक कार्यालयसित अहिले डिएपी, युरिया र पोटास पनि रहेको र जिल्ला कृषि ज्ञान केन्द्रले निर्धारण गरेको कोटा प्रणालीअनुसार मल डिलरमार्फत वितरण भइरहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सहायक प्रबन्धक आलोक कुमारले जानकारी दिए।

उनले सरकारले तोकेको मापदण्ड र कोटा प्रणालीअनुसार जिल्ला कृषि ज्ञान केन्द्रले निर्धारण गरेको कोटा सिस्टमबाटै मल वितरण गरिरहेको बताए।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्