चिसो बढेपछि लिमीका विद्यार्थीलाई पढ्न समस्या

सिमकोट – उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जी गाउँको विद्यालयमा विद्यार्थी बाक्लो च्यालक बख्खु लगाएर अध्ययन गर्न बाध्य भएका छन्।

हिउँद लागेसँगै चिसो बढेका कारण विद्यालयको निर्णयअनुसार एउटै किसिमको उक्त बख्खुको व्यवस्था विद्यार्थीलाई गरिएको हो।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले चिसो अत्यधिक बढेका कारण साना विद्यार्थीलाई चिसो हुन थालेपछि विद्यालय र अभिभावकको निर्णयअनुसार बाक्लो च्यालक बख्खुको व्यवस्था गरिएको बताए।

यसअघि विद्यालयको पोसाकमा पठनपाठन गर्दा विद्यार्र्थीले चिसो हुने बताउँदै आएका थिए। उक्त बख्खु लगाएपछि विद्यार्थीले न्यानो महसुस भएको बताएका छन्।

विद्यार्थीले चिसोका कारण पठनपाठनमा समस्या भएको बताएपछि विद्यालय व्यवस्थापनले अभिभावक भेला गराएर सबै विद्यार्थीलाई एउटै किसिमको बख्खुको व्यवस्था गरिएको जानकारी दिए।

बख्खु भने अभिभावक आफैँले खर्च गरेर किनेका हुन्। भित्र च्यांग्राको ऊन भएको बाक्लो बख्खु लगाएर विद्यालयमा विद्यार्थी आउन थालेको विद्यालय प्रशासनले जनाएको छ।

कक्षा ६ सम्म अध्ययन हुने सुुनखानी आधारभूत विद्यालयमा ५४ जना विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीले बिहानको खानासमेत विद्यालयमै खाने गरेका कारण बिहान सातै बजे विद्यार्थी र शिक्षक विद्यालयमा पुुगेर पठनपाठन हुने गर्छ। लिमीमा बिहान, बेलुुका र मौसम बदली भएका बेला तापक्रम माइनसमा झर्ने गरेको छ।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्