प्रतिनिधि र प्रदेश सभाका ६ जनाको जमानत जफत

सिमकोट – प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका प्रत्यासी बनेका ६ जना उम्मेदवारको जमानत जफत भएको छ।

उनीहरूले कुल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि मनोनयन दर्ताको दिन राखिएको जमानत जफत भएको हो।
मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुुसार प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि १३ जना उम्मेदवारमध्ये ६ जनाको जमानत जफत भएको छ।

६ जना उम्मेदवारले आफू उम्मेदवार रहेको पदका लागि कुल खसेको मतमध्ये सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि जमानत जफत भएको होे।

मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुुसार यसरी जमानत जफत हुनेमा प्रतिनिधि सभातर्फ राप्रपाका तेजबहादुुर रावत छन्। उनले प्रतिनिधि सभातर्फ कुल खसेको मत २४ हजार ७९० मा सदर मतमध्ये ३९७ मत प्राप्त गरेका थिए।

प्रतिनिधि सभामा २४ हजार २६६ मत सदर भएको थियो भने ५२४ मत बदर भएको थियो।

त्यसैगरी, प्रदेश सभा –१ (क) मा राप्रपाका छापे ऐडीले ११७ मत प्राप्त गरेका थिए भने नेकपा एकीकृत समाजवादीका हस्तबहादुुर शाहीले ७८८ मत ल्याएका थिए।

उक्त प्रदेशमा १४ हजार ४४७ मत खसेकोमा १४ हजार ११५ मत सदर भएको थियो। प्रदेश (ख) मा राप्रपाका नैनसिंह रावतले ९८ मत प्राप्त गरेका थिए भने जसपाका बलिराज शाहीले ४१ मत र राप्रपा नेपालका सुमन रावतले २१ मत प्राप्त गरेका थिए। सो प्रदेशमा १० हजार ३१४ मत खसेकोमा १० हजार २९५ मत सदर भएको थियो भने ११९ मत बदर भएको थियो।

 

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्