बायाँबाट क्रमशः हरि भण्डारी, रेशम जुगजाली, मित्रलाल बस्याल, नम्डु गुरुङ, भेषबहादुर पौडेल र लक्ष्मणबहादुर पाण्डे।

पोखरा – गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नम्डु गुरुङ २७ मतान्तरले वडाध्यक्षमा पराजित भए। मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेको उनले नेकपा एमालेका छिरिङ धिण्डु गुरुङसँग पराजय भोग्नु पर्‍यो।

वडामा पराजय भोगेका उनै नम्डुले मुस्ताङ ‘क’ प्रदेश सभाको टिकट हात पारेर निर्वाचित भएका छन्। मंसिर ४ मा भएको निर्वाचनमार्फत मुस्ताङका मतदाताले उनलाई प्रदेश सभामा प्रतिनिधित्व गर्न अनुमोदन गरेका छन्।

स्थानीय निर्वाचनमा वडामै नपत्याइएका नम्डुले गण्डकी प्रदेश सभामा दोहोरिने दाउमा रहेका नेकपा एमालेका इन्द्रधारा विष्टलाई ब्रेक लगाइदिए। गुरुङ र बिष्टबीच २५५ मतान्तर छ। विष्टले ७९३ मत पाउँदा वडामा पराजित गुरुङले १ हजार ८४ मत ल्याएर संसदीय यात्रा सुरु गरेका हुन्।

म्याग्दी ‘ख’ बाट निर्वाचित रेशमबहादुर जुग्जाली ‘सुविन’ पनि स्थानीय निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्षमा पराजित भएका हुन्। मालिकाको गाउँपालिका अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा विजयी हुँदा जुग्जाली तेस्रो भएका थिए। कांग्रेसका श्रीप्रसाद रोका मगर दोस्रो स्थानमा थिए।

तेस्रो भएका माओवादीका जुग्जालीले पाँच दलीय गठबन्धनको आडमा प्रदेश सभा निर्वाचनमा सफलता हात पारेका छन्। नेकपा एमालेका यामबहादुर गर्बुजालाई १०१ मतान्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। गर्बुजाले ९ हजार ३५३ र जुग्जालीले ९ हजार ४५४ मत पाए।

म्याग्दी ‘क’ मा निर्वाचित माओवादीकै हरि भण्डारी पनि २०७४ सालको स्थानीय तहमा पराजित भएका थिए।

रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी कमला गर्बुजासँग पराजित भएका उनी एमालेका देवेन्द्रबहादुर कटुवाल क्षेत्रीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका छन्। भण्डारीले १२ हजार ७४० मत ल्याएर निर्वाचित हुँदा कटुवालले ११ हजार ७६५ मत ल्याएर पराजित भए।

पर्वत ‘ख’ मा नेकपा एमालेका मित्रलाल बस्यालले कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गरेका छन्। मित्रलालले १४ हजार १३२ मत प्राप्त गरेर निर्वाचित हुदाँ उनका निकटतम् प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनकातर्फबाट उम्मेदवार बनेका तिवारीले १२ हजार २१० मत पाए।

१ हजार ९२२ मतान्तरले प्रदेश सभा छिर्न सफल बस्याल २०७४ सालको स्थानीय निर्वाचनमा ९७७ मतले पैंयु गाउँपालिकाको अध्यक्ष हुनबाट बञ्चित भएका थिए। गाउँपालिका अध्यक्ष नफापे पनि उनलाई प्रदेश सभा निर्वाचन भने फापेको छ। पाँच दलीय गठबन्धनकाविरुद्ध एक्लै मैदान उत्रिएको एमालेका उम्मेदवार बस्यालले जित निकाल्दै संसदीय यात्रामा सफल ठहरिए।

लमजुङ ‘ख’ मा निर्वाचित नेपाली कांग्रेसका भेषबहादुर पौडेल पनि २०७४ को निर्वाचनमा बेसीशहर नगरपालिकाको मेयरमा पराजित भएका उम्मेदवार हुन्।

एमालेका गुमानसिंह अर्यालसँग १ हजार २९७ मतान्तरले पराजित पौडेलले प्रदेश सभामा एमालेका कृष्णप्रसाद अधिकारीलाई ७५४ मतान्तरले पछाडि पार्दै जित हासिल गरेका हुन्। पौडेलको पक्षमा १९ हजार ५५७ र अधिकारीको पक्षमा १८ हजार ८०३ मत खस्यो।

नवलपुर २ ‘ख’ मा एमालेबाट निर्वाचित भएका लक्ष्मणबहादुर पाण्डे पनि विनयीत्रिवेणी गाउँपालिकामा कांग्रेसका डम्बरबहादुर जिसीसँग पराजित भएका थिए। २०७४ मा गाउँपालिका अध्यक्षमा पराजित भएका पाण्डेले प्रदेश सभा निर्वाचनमा एकीकृत समाजवादीका गोपालप्रसाद खनाललाई पराजित गरे। पाण्डेले १८ हजार ८०६ र खनालले १४ हजार ७६१ मत पाए।

स्याङजा २ ‘ख’ मा एमालेबाट टिकट पाएका बुद्धिमान श्रेष्ठ पनि २०७४ को स्थानीय निर्वाचनमा चापाकोट नगरपालिकामा पराजित भएका थिए। श्रेष्ठ नेपाली कांग्रेसका महेश भट्टराइसँग प्रतिस्पर्धामा छन्। यो क्षेत्रको मतगणना सुरु भएकै छैन।

यस्तै, कास्की ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका दामोदर पौडेल ‘बैरागी’ २६ मतले वडा सदस्यमा हारेका थिए। जिल्ला समन्वय समितिको प्रमुख बन्ने दाउले २०७४ मा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ बाट वडा सदस्य लडेका उनलाई वडाबासीले पत्याएनन्।

प्रतिनिधि सभामा भने उनी फराकिलो मतान्तरले विजयी भए। बैरागीले २२ हजार ९८० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल ‘जीवन’ ले १७ हजार ५३५ र राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्