नवौं विश्व माटो दिवसमा प्रभातफेरी गरिने

काठमाडौँ – कृषि विभागले नवौं विश्व माटो दिवसको अवसरमा मंसिर १९ गते माटोसम्बन्धी जनचेतना जगाउन प्रभातफेरी गर्ने भएको छ।

कृषि विभागले काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन गर्दै नवौं विश्व माटो दिवसमा मंसिर १९ गते माटोसम्बन्धी जनचेतना जगाउन प्रभातफेरी तथा विभिन्न कार्यक्रम गर्ने जनाएको हो।

कृषि विभागका महानिर्देशक डा।रेवतीरमण पौडेलले विश्व माटो दिवसको अवसरमा विभिन्न चित्रकला तथा माटो संरक्षणसम्बन्धी गोष्ठी आयोजना गर्ने बताए।

उनले मंसिर १९ गते हरिहरभवन–जावलाखेलसम्म प्रभातफेरी गर्ने बताए। उनले राष्ट्रिय किसान आयोगद्वारा प्रदेशहरूमा माटो परीक्षण शिविर आयोजना गर्ने योजना रहेको जानकारी दिए।

नेपालको खेतीयोग्य जमिनको ५५ प्रतिशत माटो अम्लीय प्रकृतिको, ५ प्रतिशत क्षारीय र ४५ प्रतिशत तटस्थ प्रकृतिको पाइएको विभागले जनाएको छ।

धेरैजसो बाली उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुन्छ। नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशत नाइट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको विभागले बताएको छ।

पछिल्लो समय गोबर वा कम्पोस्ट मल, हरियो मलको प्रयोग न्यून रहेकाले माटो बिग्रँदै गएको विभागको भनाइ छ। यस वर्षको विश्व माटो दिवसको नारा स्वस्थ मोटोको साथ, खाद्य उत्पादनको सुरुवात रहेको छ।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्