‘एचआईभी संक्रमितलाई समाजले गर्ने विभेद र लाञ्छनामा कमी’

काठमाडौँ – एचआईभी संक्रमितप्रति समाजले गर्ने विभेद र लान्छना (स्टिग्मा इन्डेक्स) २.० ले केही कमी आएको देखाएको छ।

३५ औँ विश्व एड्स दिवसको अवसरमा, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र (एनसीएएससी) र सेभ द चिल्ड्रेनले काठमाडौँमा एक कार्यक्रम गर्दै एचआईभी संक्रमितहरूमा स्टिग्मा इन्डेक्स (लान्छना सूचक) २.० रिपोर्टको प्रतिवेदन सार्वजनिक गरेका हो।

प्रतिवेदनमा एचआइभी संक्रमित आफैले आफूप्रति गरिने लान्छनायुक्त व्यवहार नयाँ चुनौतीको रूपमा बाहिर आएको देखाएको डा. सुधा शर्माले बताइन्।

यस्तै, २०११ को तथ्यांकसँग तुलना गरेर हेर्ने हो भने नेपालमा एचआईभी संक्रमितहरूप्रति गरिने व्यवहारमा उल्लेखनीय सुधार भएको पाइएको सेभ द चिल्ड्रेनकी सञ्चार प्रबन्धक सञ्जना श्रेष्ठले बताइन्।

श्रेष्ठका अनुसार लान्छना र भेदभावसँग सम्बन्धित घटना के कति छ भनेर सन् २०११ मा अध्ययन गरिएको थियो। त्यो बेला ४९.७ प्रतिशत रहेको थियो भने सन् २०२२ मा त्यो विभेद घटेर ९.५ प्रतिशतमा आएको छ।

करिब एक दशकपछि गरिएको अध्ययनमा लाञ्छना र भेदभावसम्बन्धी व्यवहारहरू सन् २०११ को तुलनामा झण्डै आधाले घटेको उल्लेख गरिएको छ।

प्रतिवेदनमा एचआईभी संक्रमितहरू भएकै कारण स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवा प्रदान नगर्ने दर सन् २०११ मा ७.३५ बाट सन् २०२२ मा ४.५ मा घटेको भनिएको छ।

एचआईभी संक्रमितहरुमा स्टिग्मा इन्डेक्स २.० अध्ययनमा २१ वटा जिल्लाहरुबाट (प्रत्येक प्रदेशबाट ३ वटा जिल्ला) १८ वर्षभन्दा माथिका ९२७ उत्तरदाताहरू जसमध्ये ४४६ जना महिला र ४८१ जना पुरुष समेटेको सेभ द चिल्ड्रेनले जनाएको छ। गुणात्मक अध्ययनका लागि प्रत्येक प्रदेशबाट ३ वटाका दरले कुल २१ वटा केस स्टोरीहरु समेटिएको थियो।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार एचआईभी संक्रमितप्रति समाजले गर्ने विभेद र लाञ्छना तुलनात्मक रुपमा हेर्दा धेरै देखिएको छ। त्यसमा पनि २५ वर्षभन्दा तलको उमेर समूहमा यो विभेद झनै धेरै छ।

सर्वेक्षणका अनुसार धेरै एचआईभी संक्रमितहरूले आफ्नो कार्यस्थल, आफ्ना सहकर्मी तथा शिक्षकहरूसँग आफू एचआईभी संक्रमित भएको नभनेको बताएका छन्।

त्यस्तै, धेरै एचआईभी संक्रमितहरूले आफ्नो अनुमति बिना आफू एचआईभी संक्रमित भएको कुरा अन्यलाई बताइने गरेको बताएको उल्लेख गरिएको छ।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्