अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा आज भारत र अर्जेन्टिनाको नाटक

काठमाडाैँ- ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) अन्त्यतिर आइपुगेको छ।

नौ दिवसीय महोत्सवको आठौँ दिन शुक्रबार भारत र अर्जेन्टिनाको नाटक मञ्चनसँगै विविध कार्यक्रम हुँदैछ।

शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मञ्चन हुँदैछ। ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरूको वरिपरि घुम्दछ।

कथा अगाडि बढ्दै जाँदा उनीहरूबीचको मतभेद र भिन्नताहरूले द्वन्द निम्त्याउँछ। फलस्वरूप उनीहरू शारीरिक हिंसामा उत्रन्छन्। ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ।

त्यस्तै, साँझ ६ बजे कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदैछ। यो सांगीतिक तथा शारिरीक शैलीको नाटकले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गर्नेछ।

यसैगरी, शुक्रबार प्यानल डिसकसनको विषयमा रङ्गमञ्चको समीक्षा रहेको छ। रङ्गमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा अन्तरक्रिया हुनेछ। रङ्गकर्मी र समीक्षकहरूबीचको अन्तरक्रिया कार्यक्रम दिउँसो १ बजे हुँदैछ।

आज नै नेपाल र भारतको कलाकारहरु मिलेर चौतारी नाटक ‘प्लेब्याक थिएटर’ पनि हुँदैछ। यसमा दर्शकहरूले आफ्ना जीवनमा भोगेका, देखेका वा सुनेका घटना र अनुभूतिलाई कलाकारमाझ सुनाउनेछन्।

दर्शकले सुनाएका सन्दर्भलाई कलाकारहरूले तत्काल विभिन्न विधि प्रयोग गरेर नाटकीय स्वरूपमा ढालेर प्रस्तुत हुनेछन्।

त्यस्तै साँझ ७ः३० बजे विभिन्न युवा कवि तथा संगीतवाधको कविता र संगीतको संगम हुनेछ। शुक्रबारै बिहान ८ बजेदेखि ‘सुजुकी एण्ड भिउप्वाइन्ट’ शीर्षकमा कार्यशाला सुरु भइसकेको छ।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्