विश्वकप क्रिकेट लिग २: नामिबियासँग भिड्दै नेपाल

फाइल तस्बिर।

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप क्रिकेट लिग- २ को खेलमा शुक्रबार नामिबियासँग प्रतिस्पर्धा गर्दैछ।

४ वर्षे लामो यो यात्राको अन्तिम चरणतिर आउँदै गर्दा अब नेपालसँग हार्ने विकल्प एकदम कम छ।

नेपालका लागि विशेष गरेर एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताका लागि पनि यो खेल अर्थपूर्ण छ। विश्वकप क्रिकेट लिग- २ मा नेपालसँग अब सीमित मात्र खेल बाँकी छन्।

नामिबियामा नेपालले एक सातामा लिग- २ को निर्णायक समीकरणमा नामिबिया र स्कटल्यान्डविरुद्ध २-२ खेल खेल्दैछ।

सात राष्ट्र सहभागी लिग २ को शीर्ष तीन राष्ट्र विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन्।

नेपाल यी दुवै समीकरणभन्दा बाहिर भएकाले स्वाभाविक रूपमा ठूलो दवावमा रहेको छ।

नेपाल २० खेलबाट १७ अंकमात्र जोडेर छैटौँ स्थानमा छ। ओमान ४४, स्कटल्यान्ड ४२, अमेरिका ३५, नामिबिया ३२, यूएई २७ अंकसाथ शीर्ष ५ स्थानमा रहेका छन्।

ओमान र अमेरिकाले सबै ३६ खेल खेलिसकेका छन्। नेपालले १६ खेल खेल्न बाँकी रहँदा नामिबिया भ्रमणबाहेक आउँदो तीन महिनामा दुई घरेलु शृंखलाबाट ८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ। नेपालले अब नामिबिया, स्कटल्यान्ड, यूएई र पपुवा न्युगिनीसँग ४-४ खेल खेल्न बाँकी छ।

१६ मध्ये १० खेलमा विजय हात पारेमा नेपालले अमेरिकालाई उछिन्दै कम्तीमा शीर्ष पाँचभित्र आफूलाई राख्न सक्नेछ। जसले नेपालको एकदिवसीय मान्यता कायम रहने छ। यसको सुरुवात भनेको नामिबिया भ्रमण नेपालले गर्ने प्रदर्शन नै मुख्य रूपमा रहेको छ।

नेपालले शुक्रबार घरेलु टोली नामिबियासँग खेलेर यात्रा सुरु गर्दा डिसेम्बर ४ मा स्टकल्यान्ड, डिसेम्बर ७ मा नामिबिया र डिसेम्बर ८ मा स्कटल्यान्डसँग खेल्नेछ।

समग्रमा सक्टल्यान्डमाथि नेपालको अपेक्षा कम छ। त्यसैले नामिबियालाई हराउनु पर्ने दवाव छ।

अहिले नेपाली टिम रोहित पौडेलको कप्तानीमा छ। नियमित कप्तान सन्दीप लामिछाने बलात्कारको आरोपमा जेल चलान भएपछि रोहित नेपालको नियमित कप्तान बनेका हुन्।

अघिल्लो महिना रोहितकै कप्तानीमै नेपालले यूएईलाई घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा २-१ ले पराजित गरेकाले केही आत्मविश्वासी बनेको छ।

कप्तान मात्र होइन, प्रशिक्षक प्रभाकरका लागि समेत यो भ्रमण अर्थपूर्ण हुने छ। दिल्लीमा अभ्यास खेल खेल्दै नेपाली टोली नामिबिया पुगेको हो।

यो पटक नेपाली टिममा ज्ञानेन्द्र मल्ल मार्चपछि पहिलो पटक लिग २ मा खेल्दै छन्। लेग स्पिनर सन्दीपको अभावलाई ललित राजवंशी र सागर ढकालले कति न्याय गर्न सक्छन् त्यो पनि अर्को पाटोका रूपमा रहनेछ।

नामिबिया पहिलो खेलमा बिहीबार स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो।

नामिबियाले जुलाईमा स्कटल्यान्डमा नेपालसँगको दुई महत्त्वपूर्ण खेलमा विजय हात पारेकाले नेपालविरुद्ध अंङ्क खोस्ने उसको मुख्य लक्ष्य रहने छ।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्