युवा साथीहरूले मसहित २० सौँ जनालाई चुनाव हराए, अब उनीहरूको भविष्य बुङ्ग्राङ हुन्छ : उमेश श्रेष्ठ

राज्यमन्त्री उमेश श्रेष्ठ/फाइल तस्बिर।

काठमाडौँ – मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेसभित्र भएको अन्तरघातको कलह सतहमै आउन थालेको छ। अलिहेसम्म आन्तरिक रूपमा मात्रै उजुरी र चर्चाको विषय बनेको अन्तरघातको प्रकरण अब मिडियामार्फत् अभिव्यक्त हुन थालेको हो।

कांग्रेसका तर्फबाट चितवन- २ मा उम्मेदवारी दिएका उमेश श्रेष्ठले कांग्रेसकै अन्तरघातका कारण आफूले चुनाव हार्नु परेको गुनासो गरेका छन्।

चितवन- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले जित्दा सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेल पराजित भए।

पराजयको कारण उल्लेख गर्दै राज्यमन्त्रीसमेत रहेका श्रेष्ठले पार्टी केन्द्रको निर्देशनअनुसार आफूलाई कांग्रेसकै युवा साथीहरूले हराएको दावी गरे।

ऋषि धमलाले सञ्चाल गरेको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा बिहीबार बेलुका श्रेष्ठले भने, ‘युवा साथीहरूले मलाई चुनाव हराए, नाम नभनौँ। सबै साथीहरूले भनिरहेका छन्- कांग्रेसका युवा साथीहरू नै हुन्। जसको देशभर चर्चा छ।’

धमलाले पटक-पटक कांग्रेस महामन्त्री गगन थापा र उनको समूह हुन्? भन्ने प्रश्न गर्दै श्रेष्ठले आफू नामै लिन तयार नभएको बताउँदै भने, ‘म नाम लिन चाहन्नँ। युवा साथीहरूले अन्तरघात गरे।’

कांग्रेस महामन्त्री गगन थापा र उनको समूहमाथि स्वतन्त्र पार्टीसँग मिलेर कांग्रेससहित गठबन्धनका उम्मेदवारविरुद्ध लागेको आरोप लागेको छ। कांग्रेसका नेताहरूले त्यसको उजुरी सभापति शेरबहादुर देउवासमक्ष दिइसकेका छन्।

गगन थापाबिरुद्ध पार्टीभित्रै गम्भीर उजुरी: स्वतन्त्र पार्टीसँग मिलेर गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात!

अन्तरवार्तामा श्रेष्ठले युवा साथीहरूले आफूलाई मात्रै नभइ अरू धेरै कांग्रेसका उम्मेदवारमाथि अन्तरघात भएको दावी गरे। गठबन्धन बनाएर चुनावमा गएको कांग्रेसले प्रत्यक्षमा ५६ स्थान मात्रै जित्नुको पछाडि पार्टीभित्रैबाट भएको अन्तरघात मुख्य कारण भएको जिकिर गरे।

‘मलाई मात्रै होइन, धेरै साथीहरूलाई हराइयो। बीसाैँ जनालाई पराजित गरियो। ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसले ८०/८५ ठाउँमा जित्नुपर्ने हाे, तर ५६ मात्रै सीमित भयौँ', श्रेष्ठले भनेका छन्, ‘केन्द्रको निर्देशनअनुसार चितवनका कांग्रेसको सहयोग पाइएन। क्रियाशील सदस्यको जति पनि भोट आएन। जिल्लाका साथीहरूले सहयोग गर्नुभएन।’

श्रेष्ठले भविष्य भएका नेताहरूले नै अरूलाई हराउन लाग्दा उनीहरूको आफ्नै भविष्य अन्योलमा पर्ने चेतावनीसमेत दिए।

अन्तरवार्तामा श्रेष्ठले भनेका छन्, ‘अहिले मलाई हराउने, अरू साथीहरूलाई हराउनेको अवस्था भोलि के होला? उहाँहरू भविष्य भएको, संसदमा चाहिने, विकासका लागि चाहिने साथीहरू हुन्। भविष्य भएका साथीहरूलाई बुङ्ग्राङ्मा पार्नुहुन्छ।’

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्