माओवादी नेत्री शर्मा भन्छिन्- कांग्रेसले प्रधानमन्त्रीमा दावी गर्नु अस्वाभाविक हाेइन

फाइल तस्बिर।

रुपन्देही- नेकपा माओवादी केन्द्रकी नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छन्।

उनले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुङ्ग्याउन आग्रह गरिन्।

बुटवलमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अस्वाभाविक मान्न नहुने बताइन्।

उनले प्रधानमन्त्रीको विषय बाहिर चर्चा गर्नुभन्दा पार्टीभित्र र गठबन्धन दलभित्र छलफल गरेर टुङ्ग्याउनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘अहिले ठूलो दलको हैसियतमा कांग्रेसले दाबी गर्नुलाई अन्यथा मान्न मिल्दैन। तर बाहिरभन्दा पार्टी र गठबन्धनभित्रबाट आउनुपर्ने पर्छ।’

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रीमा दाबी रहने पनि जनाइन्।

 

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्