धनुषामा दुई परिवारबीच जग्गालाई लिएर विवाद, एककाे मृत्यु, तीनजना घाइते

जनकपुरधाम- धनुषामा जग्गाको विषयलाई लिएर दुई परिवारबीचको विवाद हुँदा एक जनाको मृत्यु भएको छ।

मिथिला बिहारी नगरपालिका- ४ रमौलमा दुई परिवारबीच भएको विवादमा घरेलु हतियार प्रहारबाट ५३ वर्षीय प्रभु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

गए राति साढे ९ बजेको समयमा मृतक प्रभु यादव र छिमेकी सुरज यादवको परिवारबीच जग्गासम्बन्धी विवाद हुँदा घरेलु हतियारको प्रहारबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दीपक रायले बताए।

यस्तै, यस घटनामा ३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा प्रभुका जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव रहेको प्रहरीले जनाएका छन्।

सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुईवटा औँला काटिएको छ। जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ।

यस घटनामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी नायव उपरीक्षक रायले यस घटनाको अनुसन्धानको क्रममा सोधपुछका लागि ६ जनालाई पक्राउ गरिएको बताए।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्