समूह चरणका खेल सकिँदै, नकआउट पुग्ने अन्तिम चार टिमको टुंगो लाग्दै

विश्वकप फुटबलमा शुक्रबारबाट समूह चरणका खेलहरु सकिँदै छन्। प्रतियोगितामा समूह ‘जि’ र ‘एच’का अन्तिम खेल शुक्रबार सम्पन्न भएसँगै कतार विश्वकपमा समूह चरणका खेलहरु सकिने छन्।

विश्वकप फुटबलमा शुक्रबार घाना र उरुग्वे प्रतिस्पर्धा गर्दा दक्षिण कोरिया र पोर्चुगल राति ८ः४५ मा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, क्यामरुन र ब्राजिल तथा सर्विया र स्वीट्जरल्यान्ड मध्यरात १२ः४५ मा भिड्ने छन्।

समूह ‘जि’बाट यसअघि नै ब्राजिलले नकआउटमा स्थान बनाउँदा समूह ‘एच’बाट पनि पोर्चुगलले नकआउटमा स्थान बनाइसकेको छ। त्यसैले यी समूहबाट अन्तिम १६ मा पुग्ने दुई टिमको तय हुँदा समूह विजेताको समेत टुंगो लाग्ने छ।

दक्षिण कोरियालाई मौका


कतारमा जारी फिफा विश्वकपमा यो पटक एसियन टिमले निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। २००२ पछि जापान समूह विजेताका रुपमा नकआउट पुग्ने एसियन राष्ट्र बन्दा अस्ट्रेलिया पनि एसियन कोटाबाटै विश्वकपमा सहभागी भएको छ। उसले पनि नकआउटमा स्थान बनाइसकेको छ।

अर्को मौका दक्षिण कोरियालाई पनि रहेको छ। पोर्चुगल र कोरियाबीच एजुकेशन सिटी रंगशालामा राति ८ः४५ मा प्रतिस्पर्धा हुने छ। यही समयमा उरुग्वे र घानाले पनि प्रतिस्पर्धा गर्नेछन्।

पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेकाले लगातार तेस्रो जितसहित समूह विजेतको लक्ष्यमा छ। तर, दक्षिण कोरिया पोर्चुगललाई पराजित गर्दै नकआउट पुग्ने लक्ष्यमा रहेको छ। कोरिया र उरुग्वेले आफ्नो खेल जिते दुवैको समान ४ अंक हुनेछ र यस्तोमा गोलअन्तर निर्णायक हुनेछ।

यसअघिको दुई संस्करणको समूह चरणबाट बाहिरिएको दक्षिण कोरिया यसपल्ट त्यो विगत उल्टाउँदै १२ वर्षपछि नकआउट पुग्न चाहन्छ। दक्षिण कोरियाले पछिल्लो पटक २०१० मा समूह चरण पार गरेको थियो।

यी दुई टोलीबीच हालसम्म एक पटक प्रतिस्पर्धा भएकोमा दक्षिण कोरिया विजयी भएको थियो। सन् २००२ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपमा दक्षिण कोरियाले पोर्चुगललाई समूह चरणमा १–० ले पराजित गरेको थियो। त्यसबेला पार्क जि सुङले निर्णायक गोल गरेका थिए। त्यसैले २० वर्षअघिको इतिहास दोहोर्‍याउने लक्ष्यमा दक्षिण कोरिया रहेको छ।

स्वीट्जरल्यान्डलाई केही सहज


समूहको अन्तिम खेलमा समूह ‘जि’ मा तीन टिमको नकआउटको सम्भावना कायम छ। ब्राजिल यसअघि नै नकआउट पुगेकाले अर्को एक स्थानका लागि बाँकी तीनै टिमको सम्भावना रहेको छ।

क्यामरुनले ब्राजिललाई हराए र सर्वियाले स्वीट्जरल्यान्डलाई हराए क्यामरुन गोल अन्तरमा अघि रहेर नकआउट पुग्न सक्छ। तर, सर्वियाले आफ्नो खेलमा स्वीट्जरल्यान्डलाई हराए मात्रै पनि नकआउटमा पुग्ने छ।

तर, स्वीट्जरल्यान्डलाई भने बराबरीले पनि नकआउट पुग्ने सम्भावना रहने छ। समूहमा ब्राजिलको २ खेलबाट ६ अंक रहँदा समान खेलबाट स्वीटजरल्यान्डको ३ अंक छ। सर्विया र क्यामरुनको समान १–१ अंक रहेको छ।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्