दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार आवश्यकः निजी क्षेत्र

काठमाडौँ – दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार अहिलेको आवश्यकता भएको निजी क्षेत्रले बताएको छ।

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर मत परिणाम सकिनै लाग्दा अब मुलुकको नेतृत्वमा कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ।

हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत देखिँदैन। यही कारण समस्याग्रस्त अवस्थामा रहेको देशको अर्थतन्त्र सुधार चुनौतीपूर्ण हुने देखिएको छ। नयाँ सरकार बनाउँदा एक वा दुईभन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको छ।

अब बन्ने सरकारलाई धेरै चुनौती छन्। पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा छ। मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रसँग सरकारले सहकार्य गर्ने नेतृत्व आउँछ कि आउँदैन भन्ने चासो निजी क्षेत्रलाई छ।

त्यस्तै संकटमा रहेको अर्थतन्त्र सुधार गरी मुलुकमा दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार अहिलेको आवश्यक भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्।

निजी क्षेत्रले मुलुकमा छोटो समय धेरै राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिक परिवर्तनका एजेन्डालाई छाडेर आर्थिक समृद्धिको एजेन्डा साकार पार्ने नेतृत्व सरकारमा आउनुपर्ने बताएको छ।

निजी क्षेत्रले मुलुकमा बलियो स्थिर सरकार नभएका कारण आर्थिक समृद्धिमा मुलुक पछाडि परेको दाबी गरेको छ। मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले सबै नेपालीको आर्थिक समृद्धि चाहेको भन्दै मुलुकमा समृद्धि ल्याउनसक्ने नेतृत्व सरकारमा आउनुपर्ने धारणा व्यक्त गरे।

उनले अहिलेसम्म सबै राजनीतिक दलले आर्थिक एजेण्डा बोके पनि लोकप्रियता कमाउन मात्रै भएको बताए। अध्यक्ष गोल्छाले अब बन्ने सरकारले राजनीतिक भन्दा पनि आर्थिक एजेण्डा विशेष गरेर वर्तमान अर्थतन्त्र संकटमा सुधार गरी दिगो आर्थिक विकास गर्न सक्ने सरकार बन्नुपर्ने बताए।

उनले संकट रहेको अर्थतन्त्रलाई सवल बनाउनसक्ने नेतृत्वमा सरकार बन्ने विश्वास निजी क्षेत्रको रहेको बताए। उनले मुलुकमा आर्थिक समृद्धि ल्याउनको लागि निजी क्षेत्रसँग सहकार्य गर्ने नेतृत्व सरकार बन्ने विश्वास लिएको बताए।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक भन्दा पनि आर्थिक एजेन्डा प्राथमिकता दिने नेतृत्व सरकारमा आउनुपर्नेमा जोड दिए।

उनले चुनावको परिणामले एउटा पार्टीको सरकार बन्नसक्ने अवस्था नदेखिएकाले मिलिजुली सरकार भए पनि आर्थिक स्थायित्व दिनसक्ने नेतृत्वको सरकार बन्नुपर्ने बताए। उनले राजनीतिक पार्टीका फरक–फरक धारणा भए पनि आर्थिक एजेन्डामा सबै दलका नेताको एउटै धारणा भएको सरकार आउनु आवश्यक रहेको बताए।

त्यस्तै, उद्योगी तथा गोल्यान गु्रपका अध्यक्ष पवन गोल्यानले दिगो आर्थिक विकास गरी देश र जनताको लागि काम गर्ने सरकार आउन आवश्यक रहेको बताए। उनले अब बन्ने सरकार राजनीतिक भागबण्डा र राजनीतिलाई छाडेर देश बनाउने एजेन्डामा केन्द्रित बन्नुपर्ने बताए।

अध्यक्ष गोल्यानले पाँच वर्षमा देशको माटो सुहाउँदो र आर्थिक विकासमा सहज हुने नीति बनाउन सक्ने नेतृत्वमा सरकार बन्नुपर्ने बताए। उनले नेपालका राजनीतिक दलले सोचमा परिवर्तन गर्न आवश्यक भएको बताए। अध्यक्ष गोल्यानले आफू र आफ्नो पार्टीका लागि नभएर देशका लागि सोच्ने नेतृत्वले मात्रै अर्थतन्त्रमा परिवर्तन ल्याउने बताए।

अध्यक्ष गोल्यानले आगामी नयाँ सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएर कृषिलाई सबैभन्दा बढी नाफामूलक उद्योग बनाउन सक्ने नेतृत्वको सरकार आवश्यक रहेको बताए। उनले पर्यटन विकासका लागि भौतिक संरचना बनाउन लगानी बढाउनुपर्नेमा जोड दिए।

 

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्