गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन शिक्षामन्त्रीको निर्देशन

पोखरा – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को विशिष्टिकृत अनुसन्धान केन्द्रको (पर्वतीय हरित अर्थतन्त्र) सम्बन्धी कार्यक्रम शुक्रबार उद्घाटन गर्दै उनले गण्डकी प्रदेश अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका हुन्।

‘गण्डकी प्रदेश भन्नेबित्तिकै सम्भावना धेरै भएको ठाउँ हो,’ उनले भने, ‘गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन मेरो ठाउँबाट आवश्यक पहल हुन्छ, तपाईंहरू अनुसन्धान तथा अन्वेषणका लागि तयार हुनुहोस्।’

उनले उत्पादित जनशक्तिले जनभावनालाई जोडेर अगाडि बढ्दा प्रतिफल आउने बताए। विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षालाई जोडेर जाने गरी तयारी भएको बताउँदै ९० दिनसम्म इन्टर्नसिपको व्यवस्था बजेटमा गरिएको उल्लेख गरे।

उनले १ सय ४० विद्यालयमा गत वर्ष र यस वर्ष एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको भन्दै अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउनुपर्ने बताए।

शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै समाजलाई अर्थतन्त्रको बाटोमा लैजाउनुपर्ने बताउँँदै नाष्टले परिणाम आउने गरी काम गर्न निर्देशन दिए।

नाष्टले सातै प्रदेशमा स्थापना गर्न लागेको पर्वतीय हरित अर्थतन्त्रसम्बन्धी कार्यक्रमको शाखा कार्यालय लुम्बिनी विश्वविद्यालय, कृषि वन तथा विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालयमा स्थापना गरेको छ।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्