च्याउ उम्रिए झैं होटल बनिरहेका छन्, गुणस्तर कस्तो छ हेर्नुपर्छः राजेश हमाल

काठमाडौँ – महानायक राजेश हमालले होटल व्यवसाय नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा भएको ‘नेपाल होटल अवार्ड २०२२’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका हुन्। उनले नेपाल पर्यटनको आकर्षण केन्द्र रहेकाले धेरैभन्दा धेरै पर्यटकहरुलाई नेपाल भित्र्याउनसके नेपालले अर्थतन्त्रमा फड्को मार्ने बताए।

महानायक हमालले अहिले नेपालका विभिन्न स्थानमा गन्न नसकिने होटलहरु भइसकेको भन्दै ती होटलको व्यवस्थापन र सञ्चालन कसरी भएको छ भन्नेबारेमा पनि निरीक्षण हुन जरुरी रहेको बताए। उनले देशमा अहिले च्याउ उम्रिए झैं होटलहरु बन्दै गए पनि गुणस्तर कस्तो छ भन्ने कुराले पर्यटकहरुको ध्यानाकर्षण हुने बताए।

उनले भने, ‘जुनबेलादेखि नेपालमा विदेशीहरुको लागि ढोका खुल्यो, १९६० को दशकमा। त्यसपछि नेपाल एउटा पर्यटनको आकर्षण क्षेत्र हो भनेर चिनिँदै आएको हो। अहिले निर्वाचन आयोग भएको ठाउँमा रोयल होटल भन्ने नाममा एक होटल थियो। त्यसपछि सोल्टी हुँदै यहाँसम्म आइसकेका छौँ। हातमा गन्न नसकिने होटलहरु देशव्यापी रुपमा बन्दै गएका छन्।’

हमालले थपे, ‘हस्पिटालिटी सेक्टर राष्ट्रको इकोनोमीको लागि महत्वपूर्ण छ। यो तल–माथि हुनेबित्तिकै अर्थतन्त्रमा धेरै नै असर पार्छ। नेपाल पर्यटन क्षेत्रमा महत्वपूर्ण राष्ट्र हो। हाम्रोमा अहिले च्याउ उम्रिएझैं होटलहरु बनेका छन्। ती होटलहरुको गुणस्तर कस्तो छ, कसरी सञ्चालित भएका छन् भन्ने परिचय बाहिर आउन जरुरी छ।’

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्